इलाम , असार ७ । इलाम नगरपालिका वडा नं. १२ साङ्रुम्बा घर भई हाल विभिन्न मुलुकमा कार्यरत युवाहरुले कोरोना संक्रमणबाट गाउँबासीलाई बचाउनका लागि आर्थिक सहयोग पठाएका छन् ।

प्रवासमा कार्यरत साङ्रुम्बाका युवाहरुले वडाबासीहरुलाई कोरोना संक्रमणबाट सुरक्षित राख्नका लागि दुई लाख ५५ हजार रुपैयाँ पठाएको हाल दुवईमा कार्यरत सहयोग संकलन अभियानका अभियन्ता दिपकिशोर लिङदमले जानकारी दिए । प्रवासमा रहेका युवाहरुले उक्त रकम साङ्रुम्बास्थित स्वास्थ्य चौकीमा पठाएका हुन् । सहयोग रकममध्ये ५० हजारले स्वास्थ्य सामग्री खरिद गरिने, एक लाख रुपैयाँबाट राहत वितरण गरिने र एक लाख रुपैयाँ स्वास्थ्य चौकीमा कोष स्थापना गरेर राख्नका लागि पठाएको पनि अभियन्ता लिङ्दमले बताए । कोषबाट आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा सहयोग गरिने पनि उनले बताए । दुवईमा कार्यरत साङ्रुम्बाका युवाहरुबाट ७५ हजार, मलेसियामा कार्यरत साङ्रुम्बाका युवाहरुबाट एक लाख २८ हजार, कोरियाका कार्यरत भुवन लिङदमबाट ३२ हजार, अमेरिकामा रहेका धनबहादुर योङहाङबाट २० हजार रुपैयाँ संकलन गरेर पठाइएको हो । सो सहयोग रकमबाट सामग्री खरिद तथा राहत वितरणका लागि स्वास्थ्य चौकीका कर्मचारी, वडाध्यक्षलगायतको समिति बनाएकोे जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्