भद्रपुर, असार ७ । भद्रपुरस्थित मेची अस्पतालमा रहेको कोरोना विशेष उपचार केन्द्रबाट ६ सय ९४ जना कोभिड १९ परास्त गरी निको भएर घर फर्कन सफल भएका छन् ।

कोभिड १९ का कारण स्वास्थ्यमा समस्या आएर उपचार गर्न आइपुगेका मध्ये ९५ प्रतिशतबढी कोरोना जितेर सकुसल घर फर्कन सफल भएका हुन् ।मेची अस्पताल मेडिकल रेकर्डर अफिसर मनोज पोखरेलका अनुसार कोरोना संक्रमणको पहिलो लहर र दोश्रो लहरको अवधिमा ७ सय ३७ जना विरामी उपचारका लागि अस्पताल आइपुगेकामा ३१ जनालाई उपचार संभव नभएर अन्यत्र रेफर गरिएको थियो भने ५० जनाले उपचारका क्रममा ज्यान गुमाएका छन् । जसमा पहिलो लहरको कोरोना संक्रमणमा ४ जनाको मृत्यु भएको थियो भने दोश्रो लहरमा ४६ जनाले उपचारका क्रममा ज्यान गुमाएका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट डा. टंकप्रसाद बाह्रकोटीका अनुसार कोरोना संक्रमणले जटिल स्वास्थ्य समस्यामा पुगेका कतिपय विरामी बचाउन नसक्नुको प्रमुख कारण भेन्टिलेटरको अभाव रहेको छ । कोरोनाको दोश्रो लहरमा अस्पतालमा दैनिक सयबढी विरामीको चाप रहँदा प्रतिदिन १९० थानबढी अक्सिजन सिलिन्डर खपत गर्नु परेको जानकारी दिँदै डा. बाह्रकोटीले केही दिनयता विरामीको चाप प्रतिदिन ५० भन्दा कम रहेको जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्