भद्रपुर,असोज २ । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको दोस्रो वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समाजका अग्रज व्यक्तित्व, जेष्ठ नागरिक सम्मानलगायतका कार्यक्रम गरी वार्षिक साधारणसभा गरिएको हो ।
कार्यक्रममा भद्रपुर ९ की ९१ वर्षीया मेनुका पोखरेल र भद्रपुर १० का ७६ वर्षीय गंगाप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो । संस्थाका वार्षिक गतिविधि र आगामी वर्षका लागि कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष अधिकारीले समाज विकास र उन्नतिका लागि स्थानीय सरोकारवालासित सहकार्य गरी काम गर्ने प्रस्ताव पेस गरेका थिए ।
उपाध्यक्ष नयाँनाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी, बचत तथा ऋण सहकारी संघ प्रदेश १ का अध्यक्ष घनश्याम अधिकारी, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिकी सचिव सकुन्तला पोखरेल, भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे निकास, सम्मानित व्यक्तिका परिवारका तर्फबाट ईश्वरप्रसाद पोखरेल, त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष मुक्तिनाथ दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष युवराज न्यौपानेले ७७ हजार २ सय ९६ रुपैयाँ वार्षिक आय तथा ६६ हजार ४ सय ५३ रुपैयाँ व्यय समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक खड्गबहादुर बुढाथोकीले लेखा समितिको प्रतिवेदन पेस गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्