झापा,असोज ८ । बालमैत्री नगर घोषणा भएको भद्रपुर नगरपालिकामा एक बालिकामाथि निर्घात कुटपिट गर्नेलाई कडाभन्दा कडा कार्वाहीको माग गरिएको छ ।

भद्रपुर नगरपालिका–५ निवासी १२ वर्षीया राजवंशी थरकी एक बालिकामाथि बालमैत्री नगरभित्रै हिंसात्मक घटना भएको हो । राष्ट्रिय बाल दिवस मनाइएको एक साताभित्रै ती बालिकालाई सुनसरी जिल्ला इनरुवा नगरपालिका–६ घर भएका अन्दाजी ३० वर्षीय अनिल पौडेलले हात खम्बामा बाँधेर अनुहार र शरीरभरि निलडाम हुने गरी निर्घात कुटपिट गरेका थिए । घटना असोज ४ गते सोमबार दिउँसो साढे १२ बजेको हो ।
बालिकामाथि कुटपिट गरेको दृश्य स्थानीयवासीले प्रत्यक्ष रुपमा देखेका थिए । पौडेल भद्रपुर–५ स्थित नयाँ बजारमा रहेको मेची बहुउद्देश्यीय कृषि फर्ममा रेखदेखका लागि काम गर्दै आइरहेका छन् । फर्ममा बाख्रा छिरेको निहुँमा पौडेलले ती बालिकामाथि निर्घात कुटपिट गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।
घटना भएलगतै परिवारका सदस्य वडा प्रहरी कार्यालय भद्रपुरमा निवेदन दिएका थिए । प्रहरीले घटनाको विषयमा जानकारी पाउनासाथ पौडेललाई घटनास्थलबाट पक्राउ गरी ल्याएको थियो । तर कार्वाही नगरी छाडेको थियो । बालिकालाई उद्धार गरी मेची अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको थियो । नगर बाल सञ्जाल भद्रपुरले दोषी पौडेलमाथि कडाभन्दा कडा कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएको हो । सञ्जालकी अध्यक्ष अरध्या प्याकुरेल र सचिव राजेश मिश्रले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा सो उजुरी दर्ता गराएका छन् । सो उजुरीलाई प्रशासन कार्यालयले मुद्धा शाखामा दर्ता गरेर कानुनी कार्वाही अगाडि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्