सुरेस आले ‘सर्जु’
बिर्तामोड । नामै राख्ने हो भने आ–आफ्नो इच्छा अनुसार जे राखे पनि हुन्छ ।नामबिनाको मानिसको कल्पना गर्न पनि सकिदैन ।

समाजमा मानिसले बिभिन्न नाम राख्ने प्रचलन छ । कसैले जातीय भाषाको आधारमा, कसैले भगवानको नामको आधारमा, कसैले पश्चिमा शैलीको नाम अथवा भनौ जे जसरी पनि नाम राख्ने परम्परा छ । यो कुनै ठुलो कुरा भने होइन ।
हिन्दु धर्मावलम्बीहरुले जन्मेको बार, घडी पल्ला, तिथिमिति हेरेर जन्मिएको समय किटान गरी राशी जुराएर सो राशीबाट उठेको अक्षरको आधारमा नाम राख्ने परम्परा छ । नाम मानिसको पहिचान हो ।सामाजिक प्राणी हुनको लागि नाम अनिबार्य छ । नामबिना नागरिकता पनि बन्दैन अथवा केही पनि हुँदैन ।
नेपालमा भगवानको नामबाट उठेका राम, सिता, शिब, हरि, कृष्ण, जमुना, पार्वती, गोबिन्द, नारायण, बिष्णु, गंगा, भारत, लक्ष्मण, लक्ष्मी, इन्द्र, आदि नामहरु समाजमा प्रचलित छन् र यस्ता नाम भएका ब्यक्तिहरु समाजमा धेरै छन् । उनीहरु यही नामले समाजमा प्रख्यात छन् । नामकै कुरा गर्ने हो भने बलिउड स्टार शत्रुधन सिन्हाका चार दाजुभाइको नाम पनि भगवाकै नामको आधारमा राम, लक्ष्मण, भरत र शत्रुधन राखिएको हो । त्यस्तै एकै परिवारका तीनजना छोराको नाम सत्यम्, शिवम्, सुन्दरम् पनि रहेको छ । पाँचजना छोरा भएका ब्यक्तिहरुको नाम क्रमशःराम, कृष्ण, बिष्णु, नकुल, र धु्रब पनि छन् । छोरीहरुतर्फ यशोदा, अम्बिका, जसोमती पनि रहेका छन् । जुम्ल्याहा बच्चा जन्मिए त्यही आधारमा नाम राख्ने र तिम्ल्याहा बच्चा जन्मिए त्यही पौराणिक मान्यता अनुसार नै नाम राख्ने प्रचलन छ । नेपालमा भगवानको नामबाट नाम राख्ने चलन अलिक बढी नै रहि आएको छ ।

यहाँ गर्न लागिएको नामको चर्चा बिर्तामोड नगरपालिका ९ कोलाटोलीका स्व. देवीलाल राजवंशीका तीन छोराहरुको हो । उनीहरु तीनजना दाजुभाइ आफ्नो अनौठो नाम भएकै कारण यतिखेर चर्चामा छन् । उनीहरुको नाम अरु कोही कसैसंग मेल खाँदैन । त्यस्ता नाम भएका ब्यक्ति नेपाली समाजमा अरु छैनन् । सामान्य मजदुरी गरिखाने राजवंशी परिवारमा आजभन्दा ५५ बर्ष अगाडी राखिएको यी नामहरु साँच्चै अनौठो र लोभलाग्दो रहेको छ । गाउँलेहरु पनि यो नामलाई अनौठो सम्झने गर्छन् । राजवंशी जातिमा आफ्ना छिमेकी, जेष्ठ, मान्यजन, ओझा(धामी) आदिले बच्चा बच्ची जन्मिएपछि कपाल काटिदिएर शुद्ध गरी नाम राखिदिने परम्परा छ ।ऊ बेला राजवंशी जातिमा अनौठो नामहरु जस्तै बाङ्ठु, टानीलाल, सातानु,कष्ट, पाकु, बैशाखु, झुपडा, कल्ठु, आसारु, सेल्ठु, ठकठके, दिनकाटु, छुबी, सड्केनी, उद्र, पट्टुु , मेथी,नारिया , फाटी, चेत्री, चित्तल, ठाण्डा, डुढो ,महला, पच्कटु, ढेगा, गबर, खाल्टु, माघु, प्याजु, नुनचाटु ,भाजीखुवा साँस्कारिक नामहरु थिए ।त्यसपछि भने मिश्रित नाम राख्ने परम्परा केही हदसम्म रह्यो । पुरुषको नामको पछाडी सिंह र महिलाको नाम पछाडी सरी थपेर नाममा सिंह र सरी थप्ने परम्परा रहयो । जस्तै उदाहरणको लागि चन्द्रको पछाडी सिंह थपेर चन्द्रसिंह र चित्तलको पछाडी सरी थपेर चित्तलसरी । अहिले पछिल्लो पुस्तामा मिश्रित सामाजिक संरचनासंगै यो प्रचलन राजवंशी जातिमा हराउँदै जान थालेको छ ।
राजवंशी जातिमा आफ्नो संस्कारमा नाउ (हजाम) को महत्वपूर्ण भूमिका हुन्छ । ‘जन्म, विवाह र मृत्यु संस्कारमा नाउ नभई हुँदैन’ बिर्तामोड ९ का नगेन्द्र राजवंशीले भने । नाउले नै शुद्ध पार्ने भूमिका यी तिनै संस्कारमा गर्ने गर्छन् ।
स्व. देवीलाल राजवंशीका तीन छोरामध्ये जेठा छोराको नाम भूत्नु राजबंशी हो । उनी २०२६ सालमा जन्मिएका हुन् । उनले यही नामबाट जिल्ला प्रशासन कार्यालय झापाबाट २०४६ सालमा नागरिकता प्राप्त गरे । उनको नाम उनी बसोबास गर्ने घरनजिकै बग्ने भुतेनी खोलाको नामबाट राखिएकोे उनकी आमा शान्ति राजवंशीले बताइन् । प्रख्यात भुतेनी खोलाको नामबाट नाम राखिएका भूत्नु सामान्य घर ढलानमा मजदुरी गर्छन् । ४ कक्षासम्म पढेका उनका २ छोरा र २ छोरी छन् । तर उनले आफ्ना दुई छोराको नाम राजकुमार र मनकुमार राजवंशी राखेका छन् । घरनजिकै बग्ने भुतेनी खोलाले उनको नाम भूत्नु जुराइ दिएको हो ।
स्व. देवीलाल राजवंशीका माईला छोराको नाम देउनु राजवंशी हो । बिर्तामोड –चन्द्रगढी सडकमा पर्ने प्रख्यात देउनिया खोलाको नामबाट उनको नाम देउनु भएको छिमेकीले बताए । देउनुले पनि यही नामबाट २०५६ सालमा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता प्राप्त गरे । त्यतिखेर गाउँका जेठापाका ढेगा राजवंशीसहितले उनको नाम देउनु राखिदिएको उनकी आमाले बताइन् । गाउँमै मजदुरी गर्ने देउनुले पढेका छैनन् । २ छोरा र २ छोरीका बुबा देउनुले आफ्ना छोराको नाम नवराज र नवदेब राजवंशी राखे । स्थानीय देउनिया खोलाले उनको नाम देउनु राजवंशी जुराइ दिएको हो ।
त्यसरी नै स्व .देवीलाल राजवंशीका कान्छा छोराको नाम मेची राजवंशी हो । २०३४ सालमा जन्मिएका मेची सामान्य व्यापार गर्छन् । मेची राजवंशीले पनि २०५६ सालमा यही नामबाट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरे । लेखाइ पढाइ नभएका मेची राजवंशीको एक छोरा बिशाल तथा २ छोरी अनिशा र मनिशा राजवंशी छन् । स्व. देवीलाल राजवंशीका कान्छा छोरा मेची राजवंशीको नाम पूर्वी सीमामा पर्ने मेची नदीको नामबाट रहन गएको आमा शान्ति राजवंशीले बताइन् । आजभोलि यिनै अनौठो र कसैसंग नमिल्ने नामले स्व .देवीलाल राजवंशीका तीन छोराहरु भूत्नु , देउनु र मेची राजवंशी छरछिमेकमा चर्चित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्