बिर्तामोड,कात्तिक ६ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको बिषयमा पार्टीले छानबिन अगाडि बढाउने बताएका छन् ।

समाजवादी प्रेस संगठनले आज बिहान बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खतिवडाले तत्कालीन घट्नाको सम्बन्धमा पार्टीले बनाएको कार्यदलको प्रतिवेदन केपी ओलीले सार्वजनिक गर्न नचाहेको कारण घट्ना अहिलेसम्म गुपचुप रहेको दावी गरे । पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता समेत रहेका नेता खतिवडाले हत्याको प्रमाण लुकाउन वर्तमान राष्ट्रपति विद्या भण्डारी र ओली नै संलग्न रहँदै आएको आरोप लगाए ।
उनले अब पार्टीको नेतृत्वमा अविलम्व छानबिन गरेर घट्नाको सत्यतथ्य जनतासमक्ष सार्वजनिक गर्ने बताए । नेता खतिवडाले एमालेले कम्युनिस्ट चरित्र गुमाउँदै राष्ट्र र राष्ट्रियतालाई सत्तासंग सौदावाजी गर्दै गएकोले एमालेमा बसेर सच्चा कम्युनिस्ट हुन नसक्ने ठहर गरी आफ्नो संगठन अलग भएको प्रस्ट पारे ।
नेता खतिवडाले वर्तमान सरकारी गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए । सरकारको सय दिन उपलब्धिमूलक रहेको दावी गर्दै बाँकी रहेको राजदूत नियुक्ति प्रक्रियाले अबको एक हप्ताभित्रमा पूर्णता पाउने बिश्वास दिलाए ।
समाजवादी प्रेस संगठनका प्रदेश इन्चार्ज तिर्थ सिग्देलले संचालन गरेको सो कार्यक्रममा पार्टीका जिल्ला सचिव निलमणि बरालले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्