झापा, कात्तिक ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव जितेर देखाउन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।
गृहजिल्ला झापाको बिर्तामोडमा आइतबार आयोजित बृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले त्यस्तो चुनौती दिएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले प्रचण्ड र माधवले अब कतैबाट चुनाव नजित्ने ठोकुवा गरे । ‘प्रचण्डले चुनाव जित्दैनन््, माधव नेपाल समानुपातिकमा बस्छन्,’ अध्यक्ष ओलीले भने । उनले माधव नेपालको नामै लिएर ‘गद्दारहरुले विरोधीसँग लागेर एमालेलाई दुःख दिएको’ आरोप लगाए ।
‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । देश बनाउनेहरुको यो पार्टी हो’उनले भने,‘ माधव नेपालजस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन ।’ उनले प्रचण्डलाई पनि एमालेले चुनाव जिताइदिएको भन्दै अब चुनाव जित्ने कुरा सपना बनेको बताए । ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएका हौं । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो’उनले भने,‘ अब जितेर देखाऊन् । उनीहरूलाई कसले भोट दिन्छ ? अब जनताले भन्नेछन्– जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’
सबै लाग्दा आफू नेतृत्वको सरकार तीन वर्षमा मात्रै ढालेको स्मरण गर्दै उनले अहिलेको सरकार तीन महिनामा नै ढलपल–ढलपल अवस्थामा पुगेको दावी गरे ।
एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने भन्दै ओलीले आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा निकै गाह्रो भएकोसमेत चुनौती दिए । ‘अरु कुनै पार्टीले यस्तो गर्न सक्दैन, यो सामथ्र्य अरुसँग छैन,’ ओलीले भने, ‘एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचरणमा पनि अगाडि छ ।’
सो कार्यक्रममा ३ हजार जना एमालेमा प्रवेश गरेको जनाइएको छ । नवप्रवेशीहरुलाई ओलीले टिका लगाएर स्वागत गरेका थिए । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार माओवादीसहित करिव ३ हजार जना विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएको बताइएको छ । सोही कार्यक्रममा उनका छोरा डा. निराजन प्रसाई पनि एमालेमा प्रवेश गरेका छन् ।
माओवादीको जनयुद्धकालदेखि प्रचण्डसँग नजिक रहेर काम गरेका प्रसाईं पछिल्लो समय एमालेनिकट भएका छन् । कार्यक्रममा संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।