झापा , कात्तिक १९ । भद्रपुर ४ स्थित महेशपुर खानेपानी योजना अलपत्र परेको वर्षौ भइसक्यो । २०७२ सालमा शुरु गरिएको सो योजना बजेटको अभावमा निर्माण सम्पन्न हुन सकिरहेको छैन । दाताले दिएको ७ कठ्ठा जग्गालाई कम्पाउन्ड वाल गरी त्यहाँभित्र दुईवटा डिप बोरिङ गरिसकेपछि अरु काम अगाडि बढ्न नसकेको हो ।

यो त एउटा उदाहरण मात्र हो । झापामा यस्ता धेरै खानेपानी योजना अलपत्र अबस्थामा छन् । केही दिनअघि निरीक्षणमा आएका संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीलाई झापाका कुन–कुन योजनालाई सहयोग गर्ने भनेर समस्या नै भयो । उनले एकैदिन जिल्लाका १६ वटा खानेपानीको अनुगमन निरीक्षण गरेका थिए । ३ नं निर्वाचन क्षेत्रअन्तर्गत भद्रपुर , कचनकवल , बाह्रदशी , हल्दिवारी , कन्काईलगायतका पालिकामा रहेका खानेपानी योजनाको उनले निरीक्षण गरेका हुन् । त्यसक्रममा उपभोक्ताहरुलाई के आश्वासन दिने भनेर उनलाई समस्या देखियो । हरेक अलपत्र योजनामा पुग्दा उनले सहयोगको आश्वासन दिर्नैपर्ने भयो र दिए पनि । झापामा संघको ५७ र प्रदेशको ४४ गरी १०१ वटा खानेपानी योजना छन् । त्यसमध्ये धेरै योजनामा केही न केही समस्या छ । जिल्लाका ९ वटा योजना चाहिँ पुरै अलपत्र परेका छन् । संघ र प्रदेश दुवैले जिम्मेवारी नलिँदा ९ वटा योजना पुरै अलपत्र परेको डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख सईनकुमार श्रेष्ठले बताए । उनले संघले प्रदेशलाई हस्तान्तरण गरिसकेपनि प्रदेशले जिम्मेवारी बहन गरी बजेट नदिँदा ती योजना अलपत्र परेको जानकारी दिए ।मन्त्रीसँगै अनुगमनमा गएका डिभिजन प्रमुख श्रेष्ठले कुनै योजना संचालन हुन नसकेको र त्यस बाहेक चालु योजनाहरुमा पनि केही न केही समस्या रहेको बताए ।

त्यसैगरी सोही अनुगमनमा गएका प्रदेश नं १ का योजना प्रमुख चोकप्रसाद धितालले बजेट कम हुँदा कतिपय योजनामा पाइपलाइनको काम नभएको , ट्यांकी बनाउन नसकेको , जेनेरेटरको व्यवस्था गर्न नसकेको , खानेपानीमा आइरन आउने गरेकोजस्ता समस्या देखिएको बताए । उनले अलपत्र योजनालाई पूर्णता दिन करोडौको बजेट आबश्यक रहेको बताए । झापाका शतप्रतिशत बासिन्दालाई स्वच्छ खानेपानी उपलबध गराउने लक्ष्य रहेको छ ।तर, यी योजनाहरु अलपत्र पर्दा धेरैले ट्युवेलको पानी पिउनु परिरहेको छ । जिल्लाका ८३ प्रतिशतले मात्र स्वच्छ खानेपानी पिउने गरेको तथ्यांक छ । त्यस्तै २३ प्रतिशतले खानेपानीलाई शुद्ध नगरी पिउने गरेको डिभिजन खानेपानी तथा सरसफाई कार्यालयले जनाएको छ ।