बिर्तामोड , मंसीर ५ । प्रदेश नं.१ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अभियानको खुलेर प्रशंसा मात्र गरेनन् , आफ्नो तर्फबाट समेत १ धुर जमिन दान गरे ।

कार्यक्रमको उद्घाटन गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा आफूले प्रस्तावना पुर्याएपनि विश्वब्यापी कोरोना संक्रमणका कारण सम्बोधन गराउन नसकेको तर पनि सरकार परिवर्तनले यो सामाजिक अभियानमा कुनै असर नपुग्ने हुँदा प्रज्ञा प्रतिष्ठान र सरकारको तर्फबाट सकेसम्मको सहयोग पुर्याउन लागिपरेको बताए । कार्यक्रममा कुलपतिसँगै एक ब्यक्ति एक इँटादेखि एक धुर जमिन सहयोग समर्पण कार्यबाट सुरु भएको अभियानमा ऐक्यवद्धता जाहेर गर्दै बिर्तामोड –२ निवासी चन्द्रप्रसाद बजगाईबाट १ धुर जमिन बराबरको १ लाख १ हजार , गोरखा टेलरिङ सेन्टरका प्रमुख बिरु दर्नालबाट आधा धुर जमिन बराबरको ५१ हजार रकम प्रदान गरिएको थियो ।

यसैगरी मेचीनगर निवासी निलकण्ठ तिवारीबाट ११ हजार ,मेचीनगर –६ घर भई हाल अमेरिकाको भर्जेनिया बस्ने प्रसन्न संग्रौलाबाट २५ हजार ७५, बिर्तामोड १ निवासी डम्बरबहादुर बस्नेतबाट ५ हजार १सय , सुफल राजवंशीबाट ५ हजार १ सय , धुब्र प्रसाईबाट ५ हजार १ सय , बिर्तामोड –२ निवासी पण्डित ज्योतिष गंगाप्रसाद खरेलबाट ५ हजार १ सय २०,देबकीदेबी सेडाईबाट २ हजार १सय तथा कलाकार हिमा प्रसाईबाट १ हजार १ सय २० रुपैयाँ नाटकघर निर्माणको लागि प्रदान गरिएको थियो ।
प्रमुख अतिथि तथा बिशिष्ट अतिथिहरुलाई बग्गीमा राखेर नौमती बाजागाजाका साथ झापा नाटकघर परिसर पुर्याइएको थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतारा प्रसाईले कार्यक्रमको अध्यक्षता गर्दै क्षितिज नाट्य समूहलाई नाट्य प्रतिष्ठानको रुपमा परिणत गर्दै आफ्नो जीवनसाथी स्व. ज्ञानुराम प्रसाईले सुरु गरेको यो अभियानलाई सफल बनाउन आफू सदैव लागिपर्ने बताइन् । उनले प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा परिचित संग्रहालयसहितको कला मन्दिर निर्माणमा सबैको साथ, सहयोग र ऐक्यबद्वताको खाँचो रहेको औल्याइन् । कार्यक्रममा सांसद बिमला बि.कले स्टेजमा हुर्किएर आफू पनि यो स्थानसम्म आइपुगेको हँुदा झापा नाटकघरको पूर्णताका लागि लागिरहने बताइन् । उनले क्षितिज नाट्य समूह र यसका अभियन्ता माधब कल्पितको अथक प्रयास र प्रयत्नको उच्च सम्मान गर्दै प्रदेश सरकारबाट कल्पितलाई सम्मान गर्न लागिएको जानकारी दिइन् । कार्यक्रममा नगरपालिकाका प्रबक्ता तथा वडा न १ का अध्यक्ष अग्नीप्रसाद पाण्डेले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नाट्य समूहका केन्द्रीय अध्यक्ष तथा झापा नाटकघर निर्माण कार्यका अभियन्ता माधब कल्पितले गरेका थिए ।
क्षितिज संगीत साधना प्रतिष्ठान,सरगम संगीतालय,पाथिभरा साधना कला केन्द्रका कलाकारहरले संयुक्त रुपमा स्वागत गान प्रस्तुत गरेका थिए भने राष्ट्रिय कलाकार तुलसी पराजुली, सामना सिटौला ,हेरि आर्डि दहालको बेजोड प्रस्तुतीले नाट्य भवन तताएको थियो । कलाकार हिमा प्रसाईको नृत्य र गंगाराम प्रसाईको क्यारिकेचर रहेको कार्यक्रममा पूर्वेली नौमति बाजा ब्यबस्थापन समिति चारपानेको प्रस्तुतिले उपस्थित सबै अतिथिहरुलाई नाच्न उत्साह भरेको पाइन्थ्यो । कार्यक्रममा वडाध्यक्षहरु अग्नीप्रसाद पाण्डे ,नगेन्द्रप्रसाद संग्रौला, राजेन्द्रप्रसाद लिङ्देन, नेपाल बिश्व हिन्दु महासंघका अभियन्ता ध्रुबप्रसाद शिवाकोटी ,राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली ,बिर्तामोड उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष राजु न्यौपाने, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि डम्बरबहादुर बस्नेत ,साहित्य चौतारी झापाका संरक्षक देबीभक्त श्रेष्ठलगायत दर्जनौ सामाजिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको नाट्य समूहका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्