बिर्तामोड , मंसीर ८ । नेपाली काँग्रेस झापाको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टीमको घोषणा गरेका छन् ।

आज बिहान देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा पत्रकार सम्मेलन गरी थेबेले आफ्नो टीम घोषणा गरेका हुन् । उनको टीममा उपसभापतिमा शेरबहादुर भट्टराई , केशवराज पाण्डे , सचिव कृष्ण हुमागाँई, नविन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार रहेका छन् । समावेशी जुझारु भनिएको सो टीममा जिल्ला सभापतिका उम्मेद्वार थेबे क्षेत्र नं ४ , उपसभापति भट्टराई क्षेत्र नं ५ , उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाँई क्षेत्र नं २ , सचिव बिमली क्षेत्र नं ३ , सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेका छन् । आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेद्वार थेबेले १३ औं महाधिवेशनमा भएको ९ बुँदे सहमतिलाई टेकेर अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको बताउँदै आगामी दिनमा पार्टीलाई अझ चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टीमलाई जिताउन आव्हान गरे ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले केपी ओलीको जिल्लामा निर्वाचनमा भिड्नु पर्ने भएकाले लरतरो स्यालले पार्टीको नेतृत्व हाँक्न नसक्ने भएर बाघ नै ल्याएको धारणा राखे । उनले एउटा प्यानलबाट महाधिवेशन प्रतिनिधि लडेर हारेको व्यक्ति त्यही दिन अर्को प्यानलबाट उम्मेद्वार बनिदिँदा आफूहरुको लगानी खेर गएको बताए । उनले जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी , पूर्व सांसद डिल्लीप्रसाद सिटौला , जिल्ला सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन चित्रकला ओलीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्