विराटनगर , मंसीर १८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश १ को नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन अधिकृत भरत थापाका अनुसार शनिबार राति साढे ७ बजे सम्पन्न मतदानमा १ हजार ७ सय ५२ मत खसेको छ ।
शनिबार बिहान ८ बजे मतदान गर्ने भनिए पनि सदस्यका उम्मेदवारकै नाम छुटेपछि विवाद हुँदा दिउँसो २ बजेबाट सुरु भएको थियो ।
६ घण्टा ढिलो गरी सुरु भएको मतदान राति साढे सात बजे सकिएको निर्वाचन अधिकृत थापाले बताए । प्रदेश मतदानका लागि १ हजार ८ सय ४ प्रदेश प्रतिनिधिहरू छनौट भएका थिए । ५२ जना प्रतिनिधि अनुपस्थित भएका छन् । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।
मतगणनाका लागि दुवै पक्षसँग छलफल गरेर नेपाली काँग्रेस मोरङको पार्टी कार्यालयमा आइतबार बिहान ८ बजेदेखि हुने सहमति भएको काँग्रेस विराटनगरका सभापति दिपक चापागाँईले जानकारी दिए । प्रदेश नेतृत्वका लागि संस्थापन पक्षबाट झापा काँग्रेसका पूव सभापति उद्धव थापा टिमसहित चुनावमा होमिएका छन् ।

यस्तै इतर पक्षबाट काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेको टिमसहित चुनावमा होमिएका छन् । सभापतिमा उम्मेदवार दिएका घिमिरेलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले समर्थन छ । थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहको पनि समर्थन छ ।

९ पदाधिकारीका लागि २० जनाको उम्मेद्वारी
नेपाली काँग्रेस प्रदेश १ मा ९ जना पदाधिकारीको लागि २० जना चुनावी मैदानमा छन् । प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् । २ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्वा र सहमहामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमिला गच्छेदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले उम्मेद्वारी दिएका छन् ।
कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारूतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।
उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन् ।
शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन्।
उनले वर्तमान राष्ट्रिय मुद्दालाई बहसमा ल्याउनका लागि उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए।
राष्ट्रका प्रमुख मुद्दालाई उठाएर त्यसको निदान खोज्ने उद्देश्यसहित उम्मेदवारी दिने बताउँदै उनले नीति र विचार कार्यक्रम आधिकारिक रूपमा प्रस्तुत गर्न नसकेको बताए।
उनले भने, ‘महाधिवेशनले नीति कार्यक्रम, नेतृत्वको चयन गर्छ, यो ठाउँ (महाधिवेशन) मा नीति र विचारमा आधारित नेतृत्व चयन गर्ने मौका गुमाएका छौँ।’
उनले आफू सभापतिको उपसभापति बन्न जाने नभएर विधानले व्यवस्था गरेको नीति अनुसन्धान प्रशिक्षणको प्रमुख बनेर राष्ट्रिय एजेन्डा उठाउन चाहेको बताए।
‘पार्टीभित्र बहसको प्रारम्भ गराउँदा कसैले यो बहसलाई उपेक्षा गर्न सक्दैन’, उनले भने, ‘म निर्वाचित भए भावी सभापतिसामु राष्ट्रिय एजेन्डाका विषय उठाउन सक्छु । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्