झापा , पुष २ । ब्यक्तिगत रिसिबीका कारण दमक २ का २५ बर्षिय प्रकाश भनिने तेजप्रकाश पराजुलीको हत्या भएको खुलेको छ ।

हत्यामा संलग्न रहेको आरोपमा दमक १ का २० बर्षिय अर्जुन लिम्बु पक्राउ परेपछि हत्या गर्नुको कारण खुलेको हो । लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । लिम्बूलाई नियन्त्रणमा लिई घट्नाको अनुसन्धान गर्दा मृतक पराजुली र अभियुक्तबीच २÷३ महिना अगाडी झै–झगडा हुँदा अभियुक्तलाई कुटपिट गरी टाउकोमा चोट लागेको घट्नापश्चात रिसिबी राखी बदलाको भावना लिई घट्ना गराएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए । लिम्बुले २÷३ महिनाअघि एक युवतीको बिषयमा भएको आफूहरुबीचको झगडाका कारण सो घटना गराएको स्वीकार गरेको पनि प्रहरीको दावी छ ।
घटनामा प्रयोग भएको धारिलो हतियार दाउ र उनले घटना गराएको अवस्थामा प्रयोग गरेको झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद भएको पाठकले जानकारी दिए । बुधबार राति ७.१५ बजे दमक ६ नमुनामार्गस्थित घिमिरे मार्केटमा सन्तोष पौडेलले संचालन गरेको रक्षा फेन्सी पसलमा सेल्समेनको रुपमा काम गर्दै आएका पराजुली सोही मार्केटको भवनभित्र रहेको धारामा गई बोतलमा पानी भरेर पसलतर्फ फर्कने क्रममा उनको हत्या भएको थियो ।
उनको घाँटी तथा अनुहारको भागमा धारिलो हतियारले काटी रक्ताम्मे बनाई बेहोस भई भुईंमा लडिरहेको अवस्थामा पसलधनी पौडेलले उपचारको लागि लाईफलाइन अस्पताल दमक पुर्याउँदा उपचार हुन नसकी थप उपचारको लािग बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । घटनामा प्रयोग भएका दशीका सामानहरु लिम्बुले आफ्नो हो भनी सनाखत गरी आफूले हत्या गरेको साबिती बयान दिएको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिए । उनलाई झापा जिल्ला अदालतबाट शुक्रबार ७ दिन म्याद थप गराई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।