कुमरखोद, पुष ९ । झापा गाउँपालिका वडा नं २ मा नवनिर्मित रेडक्रस भवनको शुक्रवार उद्घाटन गरिएको छ ।

एक सामारोहका बीच झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले रेडक्रस भवनको उदघाट्न गरेका हुन् ।

रेडक्रस भवन बनाउनका लागि जम्मा ६० लाख रुपैयाँ खर्च भएको रेडक्रस कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेशले बताए । भवन निर्माणका लागि तराई मधेश कार्यक्रमअन्तर्गत ५५ लाख र झापा गापाको सहयोग ५ लाख गरी ६० लाख बजेट प्राप्त भएको थियो ।
रेडक्रस भवनको उद्घाटनसँगै जिल्ला रेडक्रस शाखा झापाले कोरोना कहरको समयमा आफ्नो ज्यानको पर्वाह नगरी २ वर्षसम्म दिनरात स्वयंसेवकको रुपमा खटिएका कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य सहयोगी कार्यदलका स्वयंसेवकहरुलाई प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष शाहले प्रशंसा पत्र प्रदान गरेका थिए । त्यसैगरी कुमरखोद रेडक्रस उपशाखाका सभापति गणेशले अध्यक्ष शाह र जिल्ला रेडक्रस सभापति लोकराज ढकाललाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।कुमरखोद रेडक्रसका उपशाखाका सभापति सुन्दरलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शाह , विशिष्ट अतिथिहरु जिल्ला रेडक्रस झापा शाखाका सभापति ढकाल , कोषाध्यक्ष हेमबहादुर खड्काको आतिथ्यता रहेको थियो । झापा जिल्लामा रेडक्रसको २७ वटा उपशाखा रहेका छन् ।
वडाध्यक्ष नेत्रबहादुर खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रममा दयानन्द गोश्वामी ,केशव बजगाई , चन्द्रबहादुर कार्की, प्रभुनारायण यादव , राजकुमार यादवलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पशुपतिलाल गणेशले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्