बिर्तामोड, पुष १५ । बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ ।

खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई सुनसरीको धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि उचालेको हो ।खेलको विजेता धरानले नगद १ लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजता टोली पाँचथरले ५१ हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।

फाइनलको प्लेयर अफ द म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् । त्यस्तै, प्रतियोगिता अवधिरका बेस्ट फर्वाड धरानकी समिक्षा मगर, बेस्ट मिडफिल्डर पाँचथरकी प्रमिला राई, बेस्ट डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री, बेस्ट गोलकिप्पर धरानकी सीमा आले मगर, बेस्ट कोच धरानकी भगवती राना मगर भए । प्रतियोगिताभरिकी सर्वोत्कृष्ट खेलाडी धरानकी समिक्षा मगर भइन् ।
पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संयोग के छ भने उनीहरु एउटा मात्र खेल जितेर फाइनल यात्रामा पुग्न सफल भएका थिए ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियोे । फेयर प्ले टिम आयोजक बिर्तामोड फुटबल क्लब भयो । बिर्तामोड फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्