झापा, पुष १८ । कोभिड–१९ का कारण अघिल्ला दुई वर्षदेखि रोकिएको झापा गोल्डकपको पाँचौँ संस्करण आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको छ ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय सो प्रतियोगिता सँधैझैं यस वर्ष पनि बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ । आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउँदै झापा ११ फुटबल क्लबको प्रवद्र्धनका लागि गोल्डकप आयोजना गरिएको जानकारी बताए । उनले प्रतियोगिता सफल पार्न सबैलाई आव्हान गरे । विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार पाउने पत्रकार सम्मलेनमा जानकारी दिए ।

त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही रु २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद रु २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ पाउनेछन् ।

प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने टिमको केही दिनमै टुङ्गो लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि रु एक करोड ४० लाख लागत अनुमान गरिएको छ । अघिल्लो वर्षजस्तै पाँचौ संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारहित सम्मान गरिने छ । त्यस्तै रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार सहयोग गरिने अध्यक्ष बस्नेतले बताए ।

पत्रकार सम्मेलनमा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्र गिरीले झापाको शान झापा गोल्डकप र डोमालाल राजवंशी रंगशालालाई अझ व्यवस्थित गर्दै लानुपर्ने धारणा राखे । झापा गोल्डकपका परिकल्पनाकार एवं झापा ११ का अध्यक्ष जलकुमार गुरुङले देशभरिका खेलप्रेमीहरुको चासोको विषय बनेको गोल्डकपलाई सफल बनाउन आव्हान गरे । कार्यक्रममा गोल्डकपका उपाध्यक्ष बलराम कार्की ,कोषाध्यक्ष केदार गिरीले पनि बोलेका थिए । प्रतियोगिताका लागि महासचिव पौडेलकोे नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्