झापा , पुष २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि सबै जिल्ला कमिटीको आज अधिवेशन गर्दैछ ।

महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथालीमा रहेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन एकैसाथ भर्चुअलरुपमा गर्ने एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । मौसमी प्रतिकूलताका कारणले आज जिल्ला अधिवेशन गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।

गएको मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले आजका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा चुनाव गर्न एमालेले सर्कुलर गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्