झापा , पुष २६ । बढ्दो कोरोना संक्रमणका कारण यस वर्षको कन्काई माई मेला नलाग्ने भएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेपछि माई मेला स्थगित गरिएको हो । आज दिउँसो कनकाई नगरपालिकामा बसेको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त बैठकले माई मेला नलगाउने निर्णय गरेको हो । कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयलाई आधार मानेर बढ्दो कोरोना संक्रमणका कारण माई मेला नलगाउने निर्णय गरिएको बैठकमा सहभागी इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

बैठकमा कनकाई नगरपालिकाका नगर प्रमुख , उपप्रमुख , शिवसताक्षी नगरपालिकाका नगर प्रमुख , उपप्रमुख लगायतको सहभागिता रहेको थियो । कनकाई नदीको पूर्वपट्टी कनकाई नगरपालिका र पश्चिम पट्टी शिवसताक्षी नगरपालिकाले मेला लगाउने गरेका छन् । शिवसताक्षी नगरपालिकाले मेला ठेक्का लगाउनका लागि संझौता गर्न लागेको थियो भने कनकाई नगरपालिकाको मेला ठेक्का लाग्न बाँकी रहेको थियो ।