कुमरखोद, पुष २८ । झापा गाउँपालिका २ स्थित साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा सुजाता पोखरेल निर्वाचित भएकी छन् ।

संस्थाको बुधवार भएको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजातालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा सावित्रा थापा , सदस्यहरुमा सीता माझी , चन्द्रकला मिश्र अधिकारी , शोभाकुमारी गणेश , कलवानी मियानी , बुद्ध श्रेष्ठ , पवित्रा राउत र मनोजकुमार राजवंशी रहेका छन् । त्यसैगरी तीन जनाको लेखा समिति पनि चयन गरिएको छ । जसको संयोजकमा बबिता कटुवाल तथा सदस्यहरुमा वन्दना थापा र विवाहकुमारी स्वर्णकार रहेको निर्वाचन समितिका संयोजक पशुपतिलाल गणेशले बताए । निर्वाचन गराउन गणेशको संयोजकत्वमा नारायण चम्लागाई र युद्धमाया खड्का रहेको निर्वाचन समिति गठन भएको थियो ।
झापा बजारमा रहेको सामुदायिक रेडक्रसको सभाहलमा संस्थाकी अध्यक्ष कल्पनाकुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले उद्घाटन गरेका थिए । संस्थाकी अध्यक्ष खड्काले कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले ६०७ जना शेयर सदस्य रहको यो संस्थामा महिला ५५९ जना र पुरुष ४८ जना रहेको जानकारी दिइन् । यस संस्थाले ऋणमा जम्मा रु २ करोड ४२ लाख ३७ हजार एकसय ६ रुपैयाँ लगानी गरेको छ भने संस्थाले अन्य बैकबाट लिएको ऋण १ करोड ८० लाख पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको शेयर पुँजी ३४ लाख ७९ हजार एकसय रुपैयाँ रहेको छ भने जम्मा कुल बचत ४७ लाख १९ हजार ९ सय तीन रुपैयाँ रहेको छ । यस आर्थिक वर्ष २०७७–७८ मा कुल आम्दानी ३० लाख ४७ हजार ३ सय ५६ रुपैयाँ रहेको छ भने कुल खर्च २२ लाख ६८ हजार ९ सय ८ रुपैयाँ रहेको छ । सम्पूर्ण खर्चहरु काटेर ७ लाख ७८ हजार ५ सय ५४ रुपैयाँ संस्थाले आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले संस्थामा उत्कृष्ट हुने व्यक्तिहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा तरकारी खेतीमा दुर्गा राजवंशी , महिला उद्यमीमा जितनी कोच , बंगुरपालनमा मनिषा भुजेल , पशुपालनमा उमादेवी कँडेल, निरन्तर किस्ता र बचतमा प्रकाश केवरत , सुकवती राजवंशी, कल्पना आचार्य र अनुपा विष्ट रहेका छन् ।
संस्थाका उपाध्यक्ष माधव पोखरेलले स्वागत मन्तव्य गरेको कार्यक्रममा राजकुमार यादव , सुन्दरलाल गणेश, केशव कटुवाल , नेत्रबहादरु खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका प्रवन्धक रुपक राजवंशीले गरेका थिए ।