झापा , पुष २८ । राष्ट्रिय किसान आयोगले झापाका सुपारी किसान र उद्यमीका समस्याबारे अध्ययन गर्न थालेको छ ।

त्यसलाई प्रतिवेदनको रुपमा तयार गरी सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने आयोगले जनाएको छ । झापाका सुपारी किसान र उद्यमीहरुको समस्याबारे अध्ययन शुरु गरिसकेको बताउँदै आयोगकी सदस्य मन्जु धिमालले त्यसलाई समेटेर चाँडै प्रतिवेदन तयार गरिने जानकारी दिइन् । उनले सुपारी किसान र उद्यमीको समस्यालाई उठान गरी दीर्घकालिन रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गरिनेसमेत जानकारी दिइन् ।

सुपारी किसान र उद्यमीको समस्या अध्ययन गर्ने क्रममा आयोगले केही दिनअघि त्रिदेव क्याम्पस चारआलीमा छलफल गरेको थियो । छलफलमा सहभागी किसान र उद्यमीहरुले सुपारीको बजारीकरण, प्रशोधनको व्यवस्थापन , सीमामा कालोबजारी , उन्नत जातको खेतीलगायतका समस्या रहेको दर्शाएका थिए । पूर्वी क्षेत्रको प्रमुख नगदे बालीको रुपमा रहेको सुपारी उत्पादकको समस्याप्रति सरकारको ध्यान नपुगेको उनीहरुले गुनासो गरेका थिए । सुपारीका लागि सरकारले ठोस कार्यक्रम ल्याउनु पर्नेमा उनीहरुको जोड थियो । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि बाली व्यवसाय प्रबद्र्धन संस्थाका सचिव हरि दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा गौमुखी सुपारी संघका विष्णु दाहाल , मेची उद्योग बाणिज्य संघका रमेशचन्द्र नेपाल , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रविन्द्र सुवेदी , कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह , सुपारी जोनका निलकण्ठ तिवारी , हरिबहादुर वाग्ले , श्रीकृष्ण सुपारी संस्थाका अध्यक्ष बिश्वनाथ ढकाललगायतले सुपारीको समस्याबारे अवगत गराएका थिए । कार्यक्रममा बुद्धशान्ति ,मेचीनगर र अर्जुनधाराका ३० जना किसान र उद्यमीको सहभागिता रहेको थियो ।

झापाको करीब ७ हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती हुने गरेको छ । झापा , मोरङ र सुनसरीमा हुने सुपारी खेती अहिले उदयपुर , चितवनलगायतका जिल्लामा समेत विस्तार भइसकेको छ । छलफल गर्नुअघि आयोगले सुपारी खेतीसम्बन्धी एकदिने अवलोकन गरेको थियो । यसअघि पूर्वको चिया र अलैची खेतीका बारेमा अध्ययन गरेको आयोगले पहिलो पल्ट सुपारी खेतीको समस्या खोज्न थालेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्