झापा, माघ १ । अटेर गर्ने झापाका दुई पालिकाले अन्ततः अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग संझौता गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसंग सझौता गरेका हुन् । पुष २७ गते दमक नगरपालिका र २८ गते शिवसताक्षी नगरपालिकाले संझौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए ।

यसअघि बुद्धशान्ति र कनकाईले संझौता गरेका थिए । झापाबाट चारवटा पालिकालाई अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसंग संझौताका लागि बोलाइएको थियो ।

देशभरका ९१ वटा स्थानीय तहलाई राष्ट्रिय भूमि आयोगले पुष २४ गते आयोगको कार्यालय काठमाण्डौमा संझौताका लागि बोलाएको थियो । त्यसदिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम थियो । शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले आयोगका पदाधिकारीसंग सम्पर्क गरेर पछि संझौता गरेपनि हुन्छ भन्ने जानकारी आएकाले २४ को ठाउँमा ४ दिन ढिलो २८ गते मात्र संझौता गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्