झिलझिले , माघ २ । शिवसताक्षीमा नेपाली कांग्रेसले विपन्नको घर बनाइदिने अभियान सुरु गरेको छ ।

राजनीतिक आस्थाका आधारमा तीन तहकै सरकारले विपन्न नागरिकलाई विभेद गरेको भन्दै नेपाली कांग्रेसले नगरमा विपन्नको घर बनाइदिने अभियान नै चलाएको हो ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा आइतबार नेपाली कांग्रेसका झापा सभापति देउमान थेवेले स्थानीय मनकुमार राईको घरको शिलान्यास गरे । ‘चार सय मिटर पूर्वमा नगरकार्यपालिकाको कार्यालय छ । तर, यहाँका जनप्रतिनिधिले आफ्नै आँखा अगाडीको विपन्न परिवार नदेख्दा ताजुब लागेर आयो,’उनले भने ।

राईको परिवार १५ वर्षदेखि घामपानी नछेलिने फुसको घरमा बस्दै आएको छ । वर्षातका बेला पानी र हिउँदका बेला हावाहुरी खपेरै उनको परिवारले दुखले छाप्रामा गुजारा चलाउदँै आएका थिए । स्थानीय डिल्ली खतिवडाले भने, ‘हामीले नगरका सामाजिक अगुवा सन्तकुमार फेउदिनलाई मनकुमारको परिवार र उनको अवस्थाका बारेमा सुनाएका थियौ । उहाँ भोलिपल्ट लगत्तै मनकुमारको घरैमा आएर अवस्था बुझ्नु भयो र घर बनाइदिने बचन दिनुभयो ।’

सन्तकुमार फेउदिन नेपाली कांग्रेस शिवसताक्षीका उपसभापति हुन् । सामाजिक रुपमा क्रियाशील फेउदेनकै संयोजकत्वमा मनकुमार राई घर निर्माण समिति समेत गठन भएको छ । आइतबार घर शिलान्यासकै दिन २ लाख ८७ हजार ५२ रुपँैया बराबरको नगद र जिन्सी कबोल भएको संयोजक फेउदिनले बताए ।

स्थानीयका अनुसार मनकुमारकी श्रीमती सविनालाई उनका माइतीले १५ धुर जग्गा दाइजो दिएका थिए । त्यही जग्गामा मनकुमारको २ कोठा र शौचालयसहितको घर निर्माण हुनेछ । स्थानीय सरकारले चासो नदेखाएपछि आफूहरु जुटेको निर्माण समितिका मंगलसिंह सम्बाहाम्फेले बताए । उनले भने, ‘राजनीतिक रुपमा राई परिवार कुन पार्टीका हुन् भन्ने कुरालाई हामीले महत्व दिएनौ । गाँस, बास र कपासको आधारभूत आवश्यकता पनि नपाएका राई परिवारले अब पक्की घर दुई महिना भित्रमा पाउने छन् ।’ राई दम्पतीको १ छोरी र २ छोरा छन् । स्थानीय भानु माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरु विद्यालयकै जेहेन्दार छात्रछात्राका रुपमा कहलिएका छन् । राईले भने, ‘छोराछोरीले चाहेजस्तो गरेर उनीहरुको शिक्षामा खर्च गर्न सकिनँ । तर पनि रिजल्ट गतिलै ल्याउँदा खुशी लाग्छ ।’

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका शिवसताक्षी नगर सभापति अशोक बस्नेत र घर निर्माण समितिका संयोजक फेउदिनले सबै राजनीतिक दल, भाषा, धर्म, भूगोल, जात र लिङ्गलाई समान दृष्टिकोणले हेर्ने एउटै मात्र राजनीतिक दल नेपाली कांग्रेस भएको बताए । उनीहरुले नेपाली कांग्रेसका हरेक अभियानमा समाहित हुन पनि सर्वसाधारणलाई आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्