बिर्तामोड , माघ ४ । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट गठित जिल्ला कमिटीमा पूर्व माओवादीको एउटा समूहले स्थान पाएको छ ।

अधिवेशनले १७६ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसमध्ये २० जना पूर्व माओवादी हुन् । सर्वसम्मत , निर्वाचित र मनोनित गरी छानिएका जिल्ला कमिटी सदस्यमा पूर्व माओवादीहरु अटाएका छन् । भूगोलबाट सर्वसम्मत भएका १२० जनामा नरेश चुडाल , शान्ता गौतम , तुलसी खतिवडा परेका छन् भने निर्वाचनबाट देविन्द्रप्रसाद चम्लागाई , रिङ्गकुमार आचार्य , प्रविण पोखरेल , कृष्णप्रसाद बिमली , सत्यनारायण राजवंशी , दयालाल राजवंशी जिल्ला सदस्यमा निर्बाचित भएका छन् ।

त्यस्तै पार्टीले मनोनित गरेका २६ जनामा धेरै पूर्व माओवादीहरु परेका छन् । एकताबाट जिल्ला सदस्यमा मनोनित हुनेहरुमा प्रमिश गिरी, मनोरथ तिवारी, नारायण काफ्ले, भुपाल ओली,गोपाल चुडाल,भीमप्रसाद राई ,विदुर तिवारी, हेमबहादुर कार्की, लक्ष्मीप्रसाद राजवंशी,हृदय राजवंशी,पर्शुराम राजवंशीलगायत रहेका छन् । एकता प्रक्रियाबाट एमालेमै रहेका धेरै पूर्व माओवादीहरुले जिल्ला कमिटीमा स्थान पाएका छन् । त्यस्तै पार्टी एकता हुनुअगावै माओवादी छोडेर एमाले बनेकाहरुले पनि जिल्ला कमिटीमा जाने अवसर पाएका छन् ।

त्यसो त नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणबाट माओवादीलाई घाटा भएको छ । दुई पार्टी अलग अलग हुँदा धेरै माओवादी कार्यकर्ता आफूतिरै राख्न एमाले सफल भएको छ । एमालेसंगको एकीकरणले माओवादी पार्टीलाई नोख्सान पुगेको एक जिल्लास्तरीय माओवादी नेताले बताए । ‘हामीले तान्न सकेनौं उनीहरुले पार्टी फुट्दा हाम्रो धेरै मान्छे लिएर गए ’ उनले भने । माओवादी पार्टी छोडेर गएकाहरुले यसरी अर्को पार्टीमा ससम्मान अवसर पाउँदा खुशी व्यक्त गर्दै उनले पूर्व सहकर्मीहरुलाई बधाई दिएका छन् । जिल्ला अधिवेशनले एकताको सन्देश दिएको बताउँदै जिल्ला सदस्यमा निर्वाचित प्रविण पोखरेलले विगतमा जुन ठाउँमा भएपनि अब एमालेमा आफूहरु कोही पनि पूर्व भनेर नचिनिने बताए । त्यसबारे पार्टीले निर्णय गरिसकेको जानकारी दिदै उनले अब १० बुँदे सहमति पनि सकिसकेको बताए ।

पुष २३ र २४ एमाले झापाको अधिवेशन उद्घाटन र बन्दसत्र चलेको थियो । सोही बन्दसत्रबाट पदाधिकारीसहित १२० जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । बाँकी ३० सदस्यका लागि गत शनिवार निर्वाचन भएको थियो । त्यस्तै सोमबार सपथ ग्रहणका दिन २६ जनालाई मनोनित गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्