कुमरखोद माघ २६ । हुलाकी राजमार्गको काममा अवरोध भएपछि स्थानीयवीच चर्काचर्की भएको छ ।

झापा गाउँपालिकाको वडा नं ४ को हुलाकी राजमार्गअन्तर्गत दुई व्यक्तिका कारणले काममा अवरोध भएपछि अन्य स्थानीयले हुलाकी बाटोमा ढाँट राखेर अवरोध गरेका थिए । बाटो अवरोध गरेर यातायात एक घण्टासम्म ठप्प पारेका थिए । यातायात ठप्प भएपछि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अनुरोधमा बाटो बन्दकर्ताहरुले ढाँट हटाएका छन् ।

हुलाकी राजमार्गको काममा अवरोध गर्नेहरुमा शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पुडासैनी र घनेन्द्रप्रसाद गणेश रहेका थिए । झापा गाउँपालिकाको कार्यालयले एक वर्ष अगाडीदेखि नै शिव मन्दिरको छेउमा रहेका सम्पूर्ण संरचनाहरु हटाउन भनेको थियो । अरुले आफ्ना संरचना हटाएपनि व्यवस्थापन समितिले अटेर गरी इनार हटाएको थिएन । ईनार नहटाएपछि हुलाकी बाटो निर्माणको काममा अवरोध भएको थियो । ईनारको विषयलाई लिएर झापा गाउँपालिका अध्यक्ष शाह र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीबीच चर्काचर्की भएको थियो । हुलाकी राजमार्गभित्र इनार पर्ने भएपछि बुधबार नै जनप्रतिनिधि ,सुरक्षा निकाय र स्थानीयवासीको रोहवरमा भत्काइएको छ । इनार भत्काएपछि गाउँपालिका अध्यक्ष शाहले मन्दिरको लागि अर्को ईनार बनाईदिने प्रतिवद्धता समेत गरेका छन् । बाटो अवरोध गर्ने अर्का व्यक्ति घनेन्द्रप्रसाद गणेशले हुलाकी राजमार्गले जवरजस्ती आफ्नो जग्गा कब्जा गरेको दावी गरेका छन् । बाटोको बीच भागवाट ४०÷४० फिट लिनुपर्नेमा आफ्नो जग्गाबाट एकलौटी ४५ फिट लिएपछि आफूले बिजुलीको पोल गाड्न अवरोध गरेको उनले बताए ।

झापा बजारलाई भविष्यमा स्मार्ट सिटी बनाउने उद्धेश्यले झापा गाउँपालिकाले रजत जयन्ती चोकदेखि १.५ किलोमिटर टाढा पंचम चोकसम्म हुलाकी राजमार्गको केन्द्रविन्दुबाट ४०–४० फिट सडक खाली गराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्