झापा , फागुन २ । माघ २० गते दिउँसो काँकरभिट्टाको एसएस फुटवेयरमा भीषण आगलागी भयो र मेचीनगरको दमकल आगो निभाउन आएन ।

दश दिनपछि फागुन १ गते काँकरभिट्टाकै भानुटोलका दुई घरमा आगलागी भयो । आगो निभाउन विर्तामोडको दमकल पहिले आयो । ढिलोगरी घटनास्थल जाँदै गरेको मेचीनगरको दमकल स्थानीयबासीको आक्रोशबाट तर्सिएर बाटैबाट फर्कियो । लगालग भएका आगलागीका घटनामा मानवीय र भौतिक क्षति हुन थालेको छ । तर, दुर्भाग्यवश आगलागी नियन्त्रणका प्रयास प्रभावकारी हुन सकेका छैनन् । यसमा मुख्य दोष मेचीनगरको ‘दमकलको अलमल’लाई ठानिएको छ । दमकललाई बेलैमा मर्मत सम्भार नगरेको र दमकल व्यवस्थापन लापरवाहीपूणर् भएको भन्दै सर्वसाधारण नगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीमाथि खनिएका छन् । जुत्ताचप्पल कारखानामा आगलागी भएका बेला मेचीनगरको दमकल बिग्रिएर थन्किएको थियो भने भानुटोलमा आइतवार आगलागी हुँदा मेचीनगरको दमकलभन्दा विर्तामोडको दमकल पहिला पुगेको थियो । आगलागीका बेला दमकल कहिले बिग्रिएको हुने र कहिले ढिलो आउने कारणले स्थानीयबासी आक्रोशित भएका हुन् । आइतवार भानुटोलका बासिन्दाले दमकलको लापरवाहीविरुद्ध मेचीनगरका नगर प्रमुख र उपप्रमुखविरुद्ध सडकमै आक्रोश पोखेका छन् । स्थानीयबासीले टायर बालेर सडक अवरोध गरेका छन् भने नगरपालिकाको मूल गेटमा पाँच घण्टा तालाबन्दी गरे । सोमवार नगरप्रमुख र उपप्रमुखलाई भानुटोलमा उपस्थित गराएर छलफल गराउने शर्तमा आन्दोलनकारी मत्थर भएका छन् । उनीहरुलाई मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङले मत्थर बनाएका हुन् ।
आधा महिनामा भयानक चार घटना
मेचीनगरमा बितेको आधा महिनामा आगलागीका भयानक चार घटना भए । जसमा एउटा जुत्ताचप्पल उद्योग, एउटा चाउचाउ उद्योग र सर्वसाधारणका तीन घर जलेर खरानी भए । ती घटनामध्ये मेचीनगर-७ मा भएको आगलागी निभाउन खटिएका १३ जना स्थानीयबासी घाइते भएकोमा एक जनाको दुःखद् मृत्यु भएको थियो । काँकरभिट्टाको एसएस फुटवेयरमा साढे ८ करोड र मनषा थाइफुड्स (चाउचाउ उद्योग)मा एकसय करोड बराबरको धनमाल क्षति भएको उद्योगी पक्षको दावी छ ।
भानुटोल आन्दोलित
आइतबार भानुटोलका पासाङ तामाङ र दिलबहादुर गुरुङको घरमा आगलागी हुँदा पुरै घर जलेर नष्ट भएको थियो । विहान करीव ९ः३० बजे विद्युत सर्ट भई आगलागी भएको थियो । आगो लाग्दा दुईवटै घरमा कोही थिएनन् । तामाङको घरमा भएको कुनै पनि सामान बाहिर निकाल्न नपाएको स्थानीयको भनाइ छ । तामाङको टिनको छानो र चित्राको बेरा लगाएको घर, लत्ताकपडा लगायत सबै सामान जलेर खरानी भएको छ । गुरुङको घरमा एक महिनादेखि कोही थिएनन् । गुरुङको घरको केही सामान निकाल्न पाए तापनि धेरै सामान निकाल्न नपाएको स्थानीयको भनाई छ । आगलागी हुँदा ढिलो गरेर बिर्तामोडको दमकल आइपुगेको थियो । स्थानीयबासी मेचीनगरको दमकल नआएकोमा आक्रोशित भए । क्रुद्ध स्थानीयबासीले नगरपालिका कार्यालयमा ताला लगाए । सडकमा टायर बाले । नगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीविरुद्ध नाराबाजी गर्दै राजीनामा समेत मागे । वडाध्यक्ष ललित तामाङको पहलमा सोमवार प्रमुख र उपप्रमुखसँग भानुटोलमा छलफल गराउने सहमतिपछि भानुटोलको आन्दोलन स्थगित भएको छ । स्थानीयबासीले नगरपालिकाको दुईवटै दमकल अपडेट राखिनु पर्ने जोडदार माग गरेका छन् । यदि दमकल अपडेट राख्न नसके प्रमुख र उपप्रमुखले पदबाट राजीनामा दिनु पर्ने स्थानीयको माग रहेको भानुटोलबासी युवा फडिन्द्र घिमिरेले बताए ।
आइतवार दमकल कहाँ थियो ?
शनिबार मगमग चाउचाउ उद्योगमा आगलागी ननिभ्दासम्म मेचीनगरको दमकल अहोरात्र खटिएको थियो । दश दिन अघि एसएस फुटवेयरमा दमकल नआएको घटनाले झस्किएका स्थानीयबासी भानुटोलमा आगो निभाउन विर्तामोडको दमकल आएपछि फेरि रिसाए । वडाध्यक्ष ललित तामाङका अनुसार भानुटोलमा आगलागी भएका बेला मेचीनगरको दमकल चाउचाउ उद्योगमा बौरिएको आगोको भुङ्ग्रो निभाउन खटिएको थियो । तत्काल विर्तामोडको दमकलमा पानी भरिएको अवस्था रहेको र मेचीनगरको दमकलमा पानी रित्तिएको अवस्था भएको कारण विर्तामोडको दमकललाई भानुटोलमा छिटो पठाइएको वडाध्यक्ष तामाङको भनाई छ । पानी भरेर भानुटोल जाने प्रयासमा रहेको मेचीनगरको दमकल स्थानीयबासीको आक्रोशको डरले फर्किएको थियो । आगो निभे पनि दमकलसँग स्थानीयबासीको आक्रोशको भुङ्ग्रो भने झन् फैलियो । जसले नगरप्रमुख र उपप्रमुखलाई निशाना बनाएर आन्दोलनको रुप नै लियो ।
सोमवार सर्वदलीय बैठक
मेचीनगर नगरपालिकाले सोमबार दमकल र आगलागीका घटनालाई मुख्य एजेन्डा बनाएर सर्वदलीय बैठकको आयोजना गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्