बिर्तामोड,फागुन २० । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई दुईपटक देशकै उत्कृष्ट बनाउन सफल संस्थाका अध्यक्ष जलकुमार गुरुङलाई नागरिक अभिनन्दन गरिएको छ ।

सचेत नागरिक मञ्च झापाले शुक्रबार बिर्तामोडमा गुरुङलाई अभिनन्दन गरेको हो ।
सार्वजनिक पदमा बसेर सधैँ उत्कृष्ट कार्य गरेको भन्दै गुरुङलाई नागरिक अभिनन्दन गरिएको हो । प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नागरिक समाजले गुरुङलाई स्वस्फुर्त सम्मान गरेका हुन् । मञ्चका अध्यक्ष भीष्मराज पौडेलले बताए । गुरुङ अध्यक्ष रहेको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देशभर दोस्रो पटक उत्कृष्ट भएको छ ।
देशभरका एक सय बढी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाभन्दा गुणस्तरीय र उत्कृष्ट कार्य गरेकाले बिर्तामोड खानेपानीलाई गत फागुन २ मा नगर विकास कोषले उत्कृष्ट खानेपानी संस्थाको रुपमा पुरस्कृत गरेको थियो ।
त्यसैगरी गुरुङले नै झापा जिल्लालाई फुटबलको हब बनाएका छन् । मोफसलकै उत्कृष्ट प्रतियोगिता झापा गोल्डकपको उनी नै परिकल्पनाकार हुन् । गुरुङसहितको नेतृत्वमा मोफसलमै व्यवस्थित र भव्य रुपमा झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भएकोले अभिनन्दन गरिएको आयोजक समितिको दाबी छ । गुरुङ अध्यक्ष रहेको झापा–११ फुटबल क्लब मोफसलकै उत्कृष्ट क्लबका रुपमा स्थापित छ । झापा–११ ले राष्ट्रिय प्रतियोगिता जित्नुका साथै राष्ट्रिय लिगमा चौंथो स्थानसम्म पुग्न सफल भएको थियो ।
गुरुङ जिल्ला फुटबल संघका पूर्वअध्यक्ष समेत हुन् । गुरुङ बिहीबार मात्र मेची आँखा अस्पतालको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सचेत नागरिक मञ्च झापाका अध्यक्ष भीष्म पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले गुरुङको कुशल नेतृत्वको प्रशंसा गरेका थिए । कार्यक्रममा अनारमनी गाविसका पूर्व उपाध्यक्ष लोकबन्धु कन्दङ्वा , बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , नेकपा माओवादी केन्द्रका युवराज दाहाललगायतको उपस्थिति रहेको थियो ।