कोरोना कहरले अस्तब्यस्त बनाएको विश्व मानव जीवन बिस्तारै सामान्य लयमा फर्किदै गएको आभास हुन थालेको छ । कसैले नसोचेको विश्व महामारी कोरोनाले लाखौं मानव जीवनको क्षति मात्र गराएन, हिसाबै गर्न नसकिने आर्थिक घाटा गराएर अन्त्य प्रायः भएको छ कोरोना । अझै पनि विश्वका मानिस र शासकहरु यसबाट भयमुक्त हुन सकेका छैनन् ।

हो , कोरोनाले यसअघि हुने गरेका सबै नियमित कार्यक्रम , खेलतालिका आदिलाई प्रभावित पार्यो । जसको प्रत्यक्ष असर खेलक्षेत्रलाई पनि पर्यो । यस्तै हरेक वर्ष झापाको बिर्तामोडमा आयोजना हुने मोफसलकै सर्वाधिक राशिको फुटबल खेल विगत दुई वर्षदेखि स्थगित बन्न पुग्यो ।
पहिलोदेखि चौथो संस्करणसम्म निरन्तर खेलिँदै र खेलाईँदै आएको झापा गोल्डकप ०७६ साल चैत्रको लकडाउनदेखि हावा खुस्केको फुटबलजस्तै उठ्नै नसक्नेगरी थला पर्यो । दुई–दुई वर्षसम्म यसलाई ब्यूँझाउन सकिएन । र , यस वर्ष कोरोना लगभग अन्त्य भएसँगै पुनः झापाली खेलप्रेमी सामाजिक अगुवाहरुको रातदिनको मेहनत र विभिन्न ब्यावसायिक प्रतिष्ठानसँगको सहकार्यले आज फागुन २१ देखि पाँचौ संस्करण भव्यताकाबीच उद्घाटन हुँदैछ ।

खेलको राजा फुटबललाई लिईन्छ र यो खेल हेर्न सबै उमेर समूहका दर्शकहरुको भीड हुने गरेको छ । सबै मनहरुलाई एकै ठाउँमा जोड्ने एकमात्र खेल फुटबल हो । सजिलै बुझिने खेल पनि यहि हो । यसैले पनि होला फुटबलका दर्शक अरु खेलमा भन्दा अत्यधिक हुने गरेका छन् ।
झापा गोल्डकप आफैंमा एक ब्राण्ड बनेको छ खेलप्रेमीहरुका लागि । राष्ट्रिय खेलाडीहरुले पनि मुख्य खेल्ने रंगशाला बनेको छ डोमालाल राजवंशी रंगशाला । खेलाडीहरु र यसका विज्ञहरुको भनाई अनुसार पनि यो रंगशाला नेपालमै उत्कृष्ट मध्येमा पर्छ रे । अब खाँचो छ यसको स्वामित्वमा देखिएको जग्गा विवादलाई मिलाएर ब्यवस्थित रंगशाला बनाउन पहल कदमीको ।
झापा गोल्डकपको अवधारणा झापा ११ हुँदै आजको अवस्थासम्म आईपुग्न संस्थापक अध्यक्ष जेके गुरुङदेखि हालसम्मका अध्यक्षहरु होम पाण्डे , महेन्द्रकुमार गिरी हुँदै बिनोद बस्नेतहरुको निरन्तरको मेहनत , समाजप्रतिको विश्वास साथै टिमवर्कले महत्वपूर्ण काम गरेको छ । झापा गोल्डकप यतिसम्म लोकप्रिय र विश्वसनीय हुनुमा आयोजकले सबै तहका युवा , ब्यवसायी एवम् समाजसेवीहरुसँग सहकार्य गर्न सक्नु नै मुख्य हो । जसरी एउटा टिमले जित हासिल गर्न एघार जना खेलाडीको उत्तिकै बराबर समन्वय भएर मात्र संभव छ, त्यसरी नै झापा गोल्डकप पनि समाज , ब्यवसायी , अभियन्ता , राजनीतिक दल एवम् सरकारसँगको समन्वयले नै सफलताको शिखरमा पुगेको हो । अब यसलाई टिकाएर अझै अघि बढाउन आगामी नेतृत्वलाई त्यति सजिलो भने पक्कै छैन ।

झापा फुटबल खेलाडीहरुको भूमि हो । रामदर्शन गुरुङ , हरि खड्का , प्रवेश कटुवाल , द्वयविशाल राई आदि खेलाडीहरुले चिनाएको झापा हो । साथै खेलक्षेत्रको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ , पूर्व केन्द्रीय सदस्य जलकुमार गुरुङ , प्रशिक्षक भगिरथ आले आदिहरुको भूमि पनि हो झापा । यसैले पनि झापा गोल्डकपले थप ऊर्जा पाएको छ !

राजधानी काठमाण्डौमा हुने प्रतियोगितामा समेत यहाँको जस्तो खेल दर्शकको उपस्थिति र पुरस्कार राशिको ब्यवस्था हुन नसकेको अवस्थामा हरेक खेलप्रेमी र खेलाडीले झापा गोल्डकपको संस्करणलाई पर्खिएर बसेका हुन्छन् । जसलाई आयोजकले कम आँकलन गर्न मिल्ने अवस्था छैन अबका दिनमा ।
दशौं हजार दर्शकाबीच उद्घाटन हुने आजको खेल भव्य अनि सभ्य सफलता नै झापाली नागरिकको गौरव बन्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्