बिर्तामोड, फागुन २४ । ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर प्रजातान्त्रिक आन्दोलनका अग्रणी महिला नेतृहरुलाई सम्मान गरिएको छ ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्बर–२ को आयोजनामा सम्पन्न कार्यक्रममा राणा शासनको अन्त्य, तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्त गरी एकदलीय तानाशाह लादेपछि प्रजातान्त्रिक समाजवाद, बहुदलीय ब्यवस्था र वाक् एवं अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गरेका सातजना महिला नेतृहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा धर्मकला प्रसाईं, दिब्या प्रसाईं, यज्ञकुमारी सिटौला, उमा पोखरेल, पद्मा बजगाई, मिठु ढकाल र निर्जला बन रहेका छन् । सम्मानित अधिकांश नेतृहरुले निर्दलीय शासन ब्यवस्थाका बेला कांग्रेसले सञ्चालन गरेको प्रजातान्त्रिक समाजवादी आन्दोलनमा लागेकै कारण जेल, नेल, यातना, निर्वासन एवं सर्वस्वहरणसम्मको यातना भोगेका थिए ।
सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, पूर्व मन्त्री उदयसमशेर राणा, विशेष अतिथिहरु नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्धव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, झापा सभापति देउमान थेवे, सचिव कृष्ण हुमागाई, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । सम्मानित ब्यक्तित्वको जिवनी समेटिएको सम्मानपत्र उपसभापति लक्ष्मीप्रसाद आचार्य र सचिव चन्द्र चुडालले वाचन गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कम्युनिष्टलाई मतदान गर्नु राष्ट्रघात हुने सन्देश लिएर गाउँ–टोलमा पुग्नुपर्ने बताइन् ।
उनले एमाले अध्यक्ष के.पी. ओलीतर्फ संकेत गर्दै पार्टी संहाल्न नसक्ने, संसद बन्धक बनाउने र मुलुकमा अस्थिरता निम्त्याउने कम्युनिष्ट पार्टीलाई ‘नो भोट’ को मूल नारा लिएर गाउँ–गाउँ जानुपर्ने बताइन् । कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेल्दैगर्दा संविधानको रक्षा, राष्ट्रवाद एवं मुलुकको समृद्धिका लागि कांग्रेसले सिद्धान्त, विचार र नीति नमिल्ने दलहरुसँग गठबन्धन गरेर सरकारको नेतृत्व लिएको उनको भनाइ छ ।
‘सरकारमा गठबन्धन भएपनि कांग्रेसले अरु दलको बैशाखी टेकेर निर्वाचनमा जानुहुँदैन’–नेतृ संग्रौलाले भनिन्–‘कांग्रेस पार्टी देशको मियो हो । कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निर्णायक भूमिका निर्वाह गर्छ ।’ तसर्थ कांग्रेस निर्वाचनमा जानुपर्नेमा आफू दृढ रहेको उनको भनाई थियो ।
संगठनभित्र मुद्धा, विचार र बल चाहिने उल्लेख गर्दै नेतृ संग्रौलाले आगामी २७ गतेबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ‘घर–घर जाऔं कांग्रेसलाई जिताऔं’ भन्ने मूल नारासहित गाउँ–टोलसम्म पुग्ने बताइन् ।
कम्युनिष्ट शासन भएका मुलुकहरुमा महिला अधिकारको अवस्था कमजोर रहेको उल्लेख गर्दै संग्रौलाले लोकतान्त्रिक शासन ब्यवस्थामा मात्रै महिला, पिछडिएको वर्ग र सबै जातजातिको अधिकार सुरक्षित हुने दावी गरिन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयसमशेर राणाले एमसीसी मुलुकको हितमा रहेकै कारण कांग्रेसकै नेतृत्वमा पारित गराएको दावी गरे ।
केन्द्रीय सदस्य राणाले आफू उपप्रधानमन्त्री हुँदा भीम रावलले एमसीसीको विषयमा एक शब्द नबोलेको र अहिले चर्का कुरा गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे । उनले नारायणकाजी श्रेष्ठ, झलनाथ खनालले एमसीसीको विरोध गरेर आफूहरूलाई बेइमान नेताको पंक्तिमा उभ्याएको आरोप लगाए । राणाले उनीहरूलाई छेपारोले रङ फेरेजस्तो बोली नफेर्न सचेतसमेत गराए । कार्यक्रममा सम्मानित ब्यक्तित्व यज्ञकुमारी सिटौला, झापा जिल्ला सभापति देउकुमार थेबे, अर्जुनधारा नगर सभापति हेमराज खरेललगायतले मन्तब्य राख्दै आधा आकाश ढाक्ने महिलाहरुको समान सहभागिताले मात्रै सामाजिक रुपान्तरण र परिवर्तन सम्भव हुने धारणा राखेका थिए ।
चारसय कार्यकर्ता कांग्रेसमा प्रवेश
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी लगभग चारसय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशी कार्यकर्तालाई प्रमुख अतिथि, विशेष अतिथिहरुले पार्टीको साधारण सदस्यता प्रदान गर्दै खादा र अविरले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, शहीद परिवारका केदार समशेर गिरी र युवराज विमली, प्रदेश सदस्य मिरा खड्का, राजकुमार बराईली, जिल्ला सदस्यहरु सरस्वती सिटौला, पार्वता गिरी, एलबहादुर गिरी, झुमा बेडारी, लीला ढकाल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, महाधिवेशन प्रतिनिधिहरु उमा शिवाकोटी, टिका प्रसाई, भुमा घिमिरेलगायत नेपाली कांग्रेसमा आबद्ध विभिन्न तह र तप्काका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत किरण श्रेष्ठ र सञ्चालन सचिव राम धिमालले गरेका थिए ।