बिर्तामोड , चैत २ । बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाले सुत्केरी पोषण भत्ता वितरण गरेको छ ।

संस्थाकी महिला सदस्य बिर्तामोड २ चैतुवारीकी चानमती राजवंशीलाई सुत्केरी पोषण भत्तावापत २ हजार रुपैयाँ वितरण गरिएको हो । साथै संस्थाले नवजात शिशुको नाममा खाता खोलिदिएको छ । पिता लक्ष्मण राजवंशी र माता चानमती राजवंशीका छोरा कवित राजवंशीको नाममा ५ सय रुपैयाँ दिएर खाता खोलिदिएको संस्थाका अध्यक्ष लवकुमार चौधरीले बताए ।

संस्थाले महिला शेयर सदस्य सुत्केरी भएमा दुई सन्तानसम्म १५ सयका दरले सुत्केरी भत्ता दिने व्यवस्था गरेको छ । त्यस्तै नवजात शिशुको नाममा संस्थाका तर्फबाट खाता खोली ५ सय र नवजात शिशुको आमाका तर्फबाट ५ सय गरी एक हजार जम्मा गर्ने , त्यस शिशुको आमाबाट प्रत्येक महिना ५ सयका दरले जम्मा गर्न लगाई १५ वर्षमा १०५ प्रतिशत व्याज दिने व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताए । जसबाट ती शिशुलाई उच्च शिक्षा अध्ययन गर्न सजिलो हुने भएको छ । ती शिशुको जन्मदिनमा बर्थडे केक संस्थाले निशुल्क दिने व्यवस्था समेत मिलाइएको जानकारी दिए ।

संस्थाका अध्यक्ष चौधरी , सहसचिव रुपा राजवंशी , संचालक समिति सदस्यहरु झलक राजवंशी , दमन्ता पोखरेल दाहाल , विष्णु चौधरी , व्यवस्थापक बरुण चौधरीलगायतको टोलीले घरमै पुगेर सुत्केरी पोषण भत्ता वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्