दमक ,चैत १२ । दमकमा शनिवार सञ्चालित खुला रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ ।

दमक ६ स्थित बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिकोत्सवका अवसर पारेर स्थानीय गणतन्त्र चौकमा आयोजना गरेको रक्तदानमा १२ महिलासहित ६३ जनाले रगत दान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवाकेन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहकारीका अध्यक्ष असिम राई, सचिव सुमन थुलुङ,सल्लाहकार संयोजक बिक्रम थाङ्देनलगायतले रगत दान गरेको व्यवस्थापक हरिप्रसाद दाहालले बताए ।
सहकारीले आफ्नो बार्षिकोत्सवका अवसरमा रक्तदानसहित विभिन्न सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष असिम राईले बताए । रक्तदाताहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
१ हजार २७५ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पूँजी १ करोड २० पुगेको छ । सहकारीले हालसम्म करिव २ करोड ऋण लगानी गर्न सफल भएको व्यवस्थापक दाहालले बताए ।