कानेपोखरी , चैत १२ । प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले आउने चैत १४ गते संघीय सरकारका प्रधानमन्त्री , अर्थमन्त्री लगायत विभिन्न मन्त्रालयमा पुगेर थप बजेट माग गर्न राजधानी जान लागेको बताएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कानेपोखरी गाउँ कमिटीद्वारा आयोजित पार्टी संगठन निर्माण तथा सुदृढीकरण कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले आगामी चुनावमा गठबन्धनबाट आफ्नो पार्टीले उम्मेदवार बनाउने प्रयास गरिरहेको बताउँदै गठबन्धनको निर्णयअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने जानकारी दिए । ।
प्रदेश नं– १ को नामकरणका सम्बन्धमा ‘किरात’ नाम आफ्नो निजी प्रस्ताव रहेको उल्लेख गर्दै उनले पार्टीको प्रदेश कमिटी र माथिल्लो तहहरूले गर्ने निर्णय आफूले सधैं शिरोपर गरेर प्रदेश सरकार सञ्चालन गर्ने पनि जनाए । मुख्यमन्त्री राईले शनिवार नै कानेपोखरी गाउँपालिकाको पार्टी कार्यालय उद्घाटन गरेका थिए ।
सोही क्रममा पोलिटब्युरो सदस्य समेत रहेका पार्टीका प्रदेश नं १ सचिव महेश रेग्मीले मोरङ जिल्लाका विभिन्न ईलाका र क्षेत्रमा सांगठनिक सुदृढीकरण अभियान संचालन गर्न नेता कार्यकर्ताहरुलाई जिम्मेवारी तोकिएको जानकारी दिए । नेता रेग्मीले नेपालको कम्युनिष्ट आन्दोलन गंभीर अवस्थामा रहेको बताउँदै आगामी चुनावमा नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनको तर्फबाट संयुक्त मोर्चाले चुनाव लड्नुपर्ने र सोका लागि कार्यकर्ता पंक्ति सशक्तरुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । नेता रेग्मीले संविधानप्रदत्त हक अधिकारहरुको रक्षा गर्दै र प्रतिक्रियावादीहरूलाई परास्त गर्न वडा–वडा र गाउँगाउँ तहसम्म पुगेर जनताको हितमा काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सोहि अवसरमा यातायात तथा संचार मन्त्री उपेन्द्र घिमिरेले प्रदेश नं १ को यातायात मन्त्रालयले २ महिनाभित्रमा साना ठुला सबैखाले सवारी साधन सञ्चालनका लागि चाँडै नै स्मार्ट लाइसेन्स वितरण गर्ने जनाए ।
उक्त अवसरमा केन्द्रीय सदस्य समेत रहेका मोरङ जिल्ला ईञ्चार्ज हर्कमान तामाङ , केन्द्रीय सदस्य तथा मोरङ सह– ईञ्चार्ज सावित्रा रेग्मी,विद्या चाम्लिङ, कृष्णाकुमारी राई, मोरङ जिल्ला कमिटी उपाध्यक्ष चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर अध्यक्ष तुलसी ढकाललगायतको उपस्थिति रहेको थियो ।