सीएनएन , चैत २७ । रुसको सैन्य आक्रमण सुरु भएदेखि सबैतिर युक्रेनियन शरणार्थीहरुका लागि ढोका खुलाइएको छ जसले विश्वव्यापी भ्रमणको स्वतन्त्रतामा पनि प्रभाव पारिरहेको देखिएको छ।

यसबीच हालै सार्वजनिक संसारका सर्वाधिक शक्तिशाली तथा कमजोर पासपोर्टहरुको नयाँ सूचीमा नेपाल फेरि पनि अन्तिम दशमा परेको छ । ‘हेन्लेज पासपोर्ट इन्डेक्स’ ले अन्तर्राष्ट्रिय यातायात संघले प्रदान गर्ने डाटाका आधारमा २००६ देखि नै सबैभन्दा यात्रा-मैत्री पासपोर्टबारे नियमित अध्ययन गरिरहेको छ । फर्मले संकलन गरेको डाटामा धेरै देशले अहिले आफ्ना प्रवेश नीतिहरुमा परिवर्तन ल्याइरहेको पाइएको छ भने कतिले युक्रेनियनहरुका लागि भिसाको आवश्यकता नै हटाइदिएका छन् । यस्तोमा युक्रेन अहिले सूचीमा केही माथि आएको छ । उता अमेरिका र युरोपले रुसमाथि प्रतिबन्ध लगाएको हुँदा रुसी नागरिकहरुलाई भिसा दिन निषेध गरिएको छ । तरपनि यसले सूचीमा रुसको स्थानमा अहिले नै उल्लेखनीय असर पारिसकेको छैन । आगामी महिनाहरुमा चाहिँ अवस्य पनि यसको ठूलो प्रभाव देखा पर्ने अनुमान छ । हाल रुसले ११७ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछ । यसमा शीर्ष स्थानमा जापान र सिंगापुर रहेका छन् । यी दुई देशको पासपोर्ट हुनेहरुले विश्वका १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न सक्छन् । यसपछि दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया रहेका छन् जसले पनि १९० गन्तव्यका लागि भिसा नलिइ भ्रमण गर्न पाउँछन् । यता अमेरिका चाहिँ बेल्जियम, नर्वे, स्वीट्जरल्यान्ड, न्युजिल्यान्डसँगै छैठौँ स्थानमा छ । यिनीहरुले १८६ गन्तव्यमा भिजा-फ्रि तरिकाले यात्रा गर्न पाउँछन् । यता सूचीको सबैभन्दा अन्त्यमा पर्ने कमजोर पासपोर्टहरुमा चाहिँ नेपाल पनि अन्तिम नौ मा पर्दछ । नेपाल १०६ औँ स्थानमा रहेको छ । नेपाली पासपोर्ट हुनेहरुले केबल ३७ गन्तव्यमा मात्र बिना भिसा यात्रा गर्न सक्छन् । यो भनेको उत्तर कोरिया भन्दा थोरै हुन्छ जसको अर्थ नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर अवस्थामा छ । उत्तर कोरियाली पासपोर्ट हुनेहरुले ३९ गन्तव्यमा भिसा-फ्रि यात्रा गर्न पाउँछन् । नेपाल भन्दा पछाडि हुने मुलुकहरुमा १०७ औँ स्थानमा सोमालिया, त्यसपछि यमन, पाकिस्तान, सिरिया, इराक र अन्त्यमा अफगानिस्तान रहेका छन् । २०१९ मा नेपाल १०४ औँ स्थानमा लिबिया भन्दा तल थियो जसबेला ३८ मुलुकमा बिना भिसा यात्रा गर्न पाउँथ्यो । एक दशक अगाडि २०१० मा चाहिँ नेपाल ८८ औँ स्थानमा थियो । त्यस्तै २००६ मा ७६ औँमा रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्