बिर्तामोड , चैत २८ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले आफ्नो पाँचवर्षे कार्यकाल विवादरहित बनाउन सकेनन् । आफ्नै बोलीले उनी पाँच वर्षभरि नै विवादमा परिरहे ।

उच्च सार्वजनिक पदमा पुगेका शिवाकोटीले विवेक नपुर्याई जथाभावी बोलिदिँदा उनले चौतर्फी आलोचनाको सिकार हुनुपर्याे । खदाकाण्ड , लक्ष्मण शिवाकोटीको मृत्युकाण्ड , कोरोना काण्डजस्ता दर्जनौं बोलीकाण्डले निकै विवाद खडा गर्यो ।

मेयरमा निर्वाचित भएको चार महिनामै उनी आफ्नै बोलीले विवादमा परे । अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणलाई लिएर उनले बोलेको अभिव्यक्तिप्रति ठूलै हंगामा भयो । दोषीलाई कार्वाहीको माग गर्दै उत्रिएका पीडितसहितका आन्दोलनकारीहरुले मेयर शिवाकोटीको घरमा ढुंगामुढा गरे । आन्दोलनकारीले मेयर शिवाकोटीको बा.१० च ३०६१ नम्बरको गाडी तोडफोड गरे भने उनका छोराको मे ७ प ३००० नम्बरको मोटरसाइकल समेत जलाइदिए । त्यसबेला पीडितको विपक्षका अभिव्यक्ति दिएका शिवाकोटीले पछि आफ्नो बोलीलाई सुधारे ।

प्रायः हरेक कार्यक्रममा जाँदा विवादास्पद बोली बोल्ने मेयर शिवाकोटीले अर्को खदाकाण्ड गराए । उनले खदाको विषयमा दिएको अभिव्यक्तिले साम्प्रदायिक सद्भाव नै विथोलिन खोज्यो । २०७६ सालको पुष १५ गते गुरुङहरुको ल्होसार पर्वको अवसरमा बिर्तामोड १० सैनिकबजारस्थित बौद्धधर्म चक्र गुम्बामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका शिवाकोटीले आयोजकको खदा बहिष्कार मात्र गरेनन् , बच्चाको आँची पुछ्ने कपडा भन्दै खदाको घोर अपमान गरे । जुन घटनाले निकै दिनसम्म विवाद ल्यायो । पछि मेयरले माफी मागेपछि साम्य भयो ।

त्यसपछि अर्को चर्चित घटना हो धातुकाण्ड । उनले एउटा टेलिभिजन अन्तर्वार्तामा सुनको औंठी लगाउँदा कोरोना भाइरस सर्छ भनेर बोलेको आधारहीन भनाइलाई धेरैले खिल्ली उडाए । त्यस्तै जातीय रुपमा होच्याएर बोल्ने गरेको आरोप लागेका शिवाकोटीले दलित , थारु , मुसहरलगायतका समुदायको कार्यक्रममा बोलेको कुराले पनि धेरै ठाउँ विवाद ल्यायो । आफूहरुको विरुद्धमा बोलेको कुरा ती समुदायले पचाउन सकेनन् ।

थारु कल्याणकारिणी सभा झापाले प्रमुख अतिथिको रुपमा बोलाएको बिर्तामोड ४ को कार्यक्रममा उनले भाषण गर्दा सम्पूर्ण थारुहरुलाई लोप्पा नै खुवाए । ‘तपाईहरु बजेट माग्न आउनु भयो भने खोया देखाउँछु ’ भनेर कार्यक्रमका प्रमुख अतिथिले लोप्पा खुवाएको घटना बिर्सन नसकिने थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष पुष्पलाल चौधरीले स्मरण गरे । अरुलाई होच्याएर र हेपेर बोल्ने उहाँको नराम्रो बानी रहेको चौधरीको बुझाइ छ ।

गुरुङहरुको ल्होसार कार्यक्रममा खदाको विषयमा बोल्न नहुने कुरा बोलेर शिवाकोटीले साम्प्रदायिकता सद्भाव नै बिथोल्ने प्रयास गरेको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले संझिए । ‘ नजानेर होइन उहाँ जानी जानी त्यस्तो तुच्छ बोली बोल्नु हुन्छ’ गुरुङले भने ,‘ लाग्छ कि उहाँ जत्तिको महाज्ञानी अरु कोही छैन ।’ आफ्नो ज्ञान र विद्वताभन्दा बढी बोल्ने गरेको उनको बुझाई छ ।

केही महिनाअघि आफूहरुको लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा पनि मेयर शिवाकोटीले बोलेको कुराले विवाद ल्याएको मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष शिखा खड्का गणेशले बताइन् । यसरी कार्यक्रममा अन्टसन्ट बोलेपछि कतिपय कार्यक्रममा अरु वक्ताहरुले प्रतिकार समेत गरेका थिए । आफू प्रमुख अतिथि भएको कार्यक्रममा अरुको कुरा सुन्दै नसुनी शुरुमै बोलेर कार्यक्रमबाट हिड्ने शिवाकोटीको अप्ठ्यारो बानी पाएको अध्यक्ष गणेशले सुनाइन् ।

कार्यक्रममा निम्त्याइएका प्रमुख अतिथिले आयोजककै विरुद्धमा विवादास्पद कुरा बोलदिँदा पछिल्लो समय धेरै आयोजकले मेयर शिवाकोटीको सट्टा उपमेयर पवित्रा महतारा प्रसाईलाई बोलाउने गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्