बिर्तामोड , चैत २९ । बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयका शिक्षक कर्मचारीहरुले तलब नपाएको विषयमा चार विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।

नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियन झापाले विगत दुई बर्षदेखि प्रधानाध्यापक बद्री बाँस्कोटाले आफ्नो विद्यालयको लेखा परीक्षण एवम् सामाजिक परीक्षण समेत नगरेको, आर्थिक अनियमितता चरम रुपमा हुँदै आएको र आजको दिनसम्म पनि विद्यालयका शिक्षक तथा कर्मचारीले तलव सुविधा प्राप्त नगरेकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको जनाएका छन् ।

नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती , अनेरास्ववियू क्रान्तिकारी झापाका अध्यक्ष रन्जन धमला , अनेरास्ववियूका जिल्ला अध्यक्ष हरि भट्टराई र समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष सुनिल हतासोले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी विद्यालयले अहिलेसम्मको हरहिसाब सार्वजनिक नगरेको हुनाले तत्काल विद्यालयको हरेक आर्थिक गतिविधिको हिसाब किताब सार्वजनिक गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन् । उनीहरुले शिक्षकहरुको सामूहिक संघर्षप्रति समर्थन जनाउँदै विद्यालयमा हुने गरेका आर्थिक गतिविधि पारदर्शिता नभएको देखिएकाले यसमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा शाखाको प्रमुख र नगर प्रमुख समेतको मिलेमतो रहेको आशंका गरेका छन् । विज्ञप्तिमा आफ्ना मागलाई बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

दुई महिनादेखि तलब नपाएपछि विद्यालयका शिक्षकहरुले विद्यालय प्रशासनमा सोमबार तालाबन्दी गरेका छन् । विद्यालयका प्रधानाध्यापक बाँस्कोटाका कारण विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुको तलब रोक्का भएको हो । विद्यालयमा कार्यरत ३ जना आयाहरुले माघदेखिको र १९ जना शिक्षक कर्मचारीहरुले फागुनदेखि तलब पाएका छैनन् । तलबविहीन शिक्षक कर्मचारीहरुले तालाबन्दी गर्नुअघि चैत २० गते विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ , विद्यालय प्रशासन , वडा कार्यालय र नगर शिक्षा शाखालाई आफ्नो समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षणपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्