भद्रपुर, बैशाख १ । लिखद पारितसम्वन्धी कानुन बनी पारित भएको सय बर्ष पुगेको सन्दर्भमा भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार देशभरिका १ सय २६ वटै भूमिसुधार तथा मालपोत कार्यालयहरुले लिखद पारितको सतबार्षिकीसम्बन्धी दोस्रोदिने कार्यक्रमअन्तर्गत आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

हिजो चैत ३० गते सरसफाई, दिपावलीलगायतका कार्यक्रम गरेका कार्यालयहरुले आज अन्तरक्रिया गरेका हुन् । भोलि बैशाख २ गते प्रथम सेवाग्राहीको सम्मानसहित तीनै दिन साँझ दिपावली गरेर सतबार्षिकी समापन गरिने जनाइएको छ । विक्रम सम्वत् १९७८ साल चैत्र ३० गते पोता रजिष्ट्रेशनबाट सुरुवात गर्दै १९७९ बैशाख १ गते तत्कालीन शासकहरुले लिखदमा परिणत गर्दै सोही लिखदको आधारमा जग्गाजमिन किनबेचलगायतका कारोवारहरु लिखदमार्फत गरिने गरिएको छ ।
यसै सन्दर्भमा मालपोत कार्यालय भद्रपुर झापाको जिल्ला कार्यक्रम कार्यान्वयन समितिको आयोजनामा कार्यालय प्रांगणमा सरोकारवालाहरुसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालय प्रमुख योगेन्द्र दुलालको अध्यक्षता तथा जिल्ला न्यायाधीश शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका सहभागीहरुले लिखदलाई थप सरल र सेवामुखी बनाइनु पर्नेमा जोड दिए ।
मालपोत अधिकृत गणेश भेट्वालको संचालनमा भएको कार्यक्रममा लेखापढी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष युवराज कार्की , नेपाल बार एशोसिएसन झापाका कार्यसमिति सदस्य चेतनाथ आचार्य, भद्रपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख खेम प्रसाई , ,नापी अधिकृत रुपेश श्रेष्ठ , लेखापढी व्यवसायी एशोसिएसन भद्रपुर अध्यक्ष लोकनाथ भट्टराईलगायतले बोल्दै लिखदलाई जनसेवामुखी बनाइनु पर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य मालपोत अधिकृत दिपेन्द्र खत्रीले गरेका थिए ।