झापा , बैशाख २१ । जनताको समस्या सुन्नु र आफ्ना भिजन सुनाउनुभन्दा दलका उम्मेदवार र तिनका समर्थकहरुले देखाउने गीतनृत्यले सर्वसाधारण दिक्क हुन थालेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि घरदैलो गर्नेक्रममा प्राय सबै दलका उम्मेदवारहरुले नाचेर भोट माग्ने प्रवृतिबाट सर्वसाधारणहरु दिक्क हुन थालेका हुन् ।घरदैलो गर्नेक्रममा घरघरमा पुग्नेक्रममा उम्मेदवारहरु मतदाताहरुको भावना बुझ्नुको साटो रमाइलो गरेर भोट तान्न उद्धत भएको देखिएको छ । चर्को आवाजमा पार्टीको गीतमा नाच देखाएर भीड जम्मा गर्ने अनि त्यसबाटै भोट तान्ने उम्मेदवारहरुको सोच र शैली गलत सावित हुँदै गएको छ ।

घरदैलोका क्रममा प्राय सबै दलहरुले नाच्नका लागि कार्यकर्ताहरुलाई जिम्मेवारी नै सुम्पेका छन् । उनीहरुको काम नाच्ने मात्र हो । गत स्थानीय तहको निर्वाचनमा जितेका र नजितेका सबै प्रकारका दलका उम्मेदवारहरु जनताको समस्या र भावनाप्रति गंभीर देखिएका छैनन् ।

सत्तामा रमाएर नाच्ने दलका नेताहरु जनताको घरदैलोमा पुग्दा समेत त्यही नौटंकी देखाउने गरेको सर्वसाधारणको भनाई छ । निर्वाचन आयोगको आचारसंहिताविपरित उम्मेदवारबिनाको माइकिङ गर्ने र अरुलाई प्रभावित हुनेगरी नाच्ने प्रवृति बढिरहँदा त्यसको अनुगमन हुन सकेको छैन । उम्मेदवारहरुको त्यो चुनावी शैलीप्रति धेरैले सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।

रमेश नेपाल
कार्यकर्ता भोट माग्न हिड्या हुन् कि नृत्य प्रतियोगितामा सहभागी हुन हिड्या हुन् छुट्याउनै गाह्रो भयो हौ !! भोट माग्न जाँदा नाच्न जरुरी छ र? कार्यकर्ताले नाचेकै भरमा जनताले मत देलान् त? नृत्य हैन एजेण्डा देखाउनुस !

दीपक सापकोटा
घाटीमा माला झुण्डयाएर ठूलो ठूलो आवाजमा गीत बजाएर टोल टोलमा नाचेर नमस्कार ठोक्दैमा भोट पाइन्छ र ? सबै उमेदवारहरूले आफ्नो प्रतिबद्धता र भिजन स्पष्ट रूपले जनतालाई बुझाएर जनताको मन जित्नुपर्यो नि ? जनताको मन जित्ने तर्फ सबैको ध्यानाकर्षण होस् !

निश्चल आचार्य
होईन भोट माग्न आउँदा विकास निर्माणका कुरा गर्नु पर्ने आफ्ना एजेन्डा सुनाउनु पर्ने कि ज्योती मगर जस्तो नाच्नु पर्ने हो ? नबुझेको कुरा !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्