दमक ,जेठ १६ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाही गर्ने भएको छ ।

पार्टीका उम्मेदवारलाई असहयोग गरी अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाहीको सिफारिस गर्न थालिएको छ ।

कांग्रेस स्रोतका अनुसार झापाको गौरादहमा पार्टीले नराम्ररी पराजय व्यहोरेपछि त्यहाँ पार्टी सभापतिसहितका पाँच जना नेता कार्यकर्तालाई वडा तहमा सिफारिस गरेको छ । गौरादह– १ कांग्रेस वडा समितिका सभापति इन्द्र गौतमको अध्यक्षतामा जेठ १४ गते बसेको बैठकले निर्वाचनको समीक्षा गर्दै नगर सभापति यादवराज सेडाईसहित चार जनालाई कारवाहीको सिफारिस गरेको छ । यसरी कारवाहीको सिफारिस पर्नेमा सभापति सेडाई, इमानसिंह तामाङ,लिलानाथ पराजुली र बन्दना सेडाई रहेका छन् ।

सेडाईसहितका चार जनाले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै पार्टीका उपल्लो तहमा सिफारिस गरिएको बताइएको छ । सेडाई त्यहाँ मेयरका आकांक्षी थिए । आफूले टिकट नपाएपछि यादवसहितका ती नेताहरु पार्टीविरुद्ध भित्री रुपमा सक्रिय भएको खुलेको छ ।

गौरादहमा कांग्रेसले यसअघि मेयरसहित तीनवटा वडा जितेको थियो । तर, यस निर्वाचनमा भने माओवादीसहितको गठबन्धनबाट मेयरका साझा उम्मेदवार निवर्तमान मेयर रोहितकुमार साह नराम्ररी पराजित हुन पुगेका छन् । वडामा भने गौरादह २ मा गोपाल कोइराला , ६ मा तोया प्रसाई र ८ मा माओवादीबाट गणेश राजवंशी निर्वाचित भएका छन् ।
निर्वाचनमा अन्तर्घात गर्नेलाई वडाबाट सिफारिस भएपछि विधानअनुसार कारवाहीमा पर्ने कांग्रेस विधानमा उल्लेख छ । यसैगरी गौरीगञ्जमा पनि महाधिवेशन प्रतिनिधि निरज अग्रवालसहितका केहि नेताहरु कारवाहीमा पर्ने भएका छन् ।

दमकमा पनि कांग्रेस प्रदेश प्रतिनिधिमा मनोनित भएका घनेन्द्रराज योङ्यासहितका केही नेता तथा अगुवा कार्यकर्ताहरु कारवाहीको सिफारिसमा पर्ने भएका छन् । उनीसहित महाधिवेशन प्रतिनिधि रमा लिम्बू, दमक –१ का कांग्रेस वडा सभापति गजेन्द्र देवानलगायतले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कारवाही गर्न लागेको पार्टी स्रोतले जनाएको छ । उनीहरुले निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई हराउन विपक्षीलाई सहयोग गरेको , चुनावी प्रचारप्रसारलगायतका कार्यक्रममा समेत सहभागी भएका थिएनन् ।

तल्लो तहबाट सिफारिस भएर आएमा पार्टीले कार्वाही गर्ने जिल्ला सभापति देउकुमार थेबेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्