झापा, जेठ १७ । स्थानीय तहको निर्वाचनमा कांग्रेसजस्तै एमाले झापाका नेताहरुको पनि हविगत उस्तै भएको छ । जिल्लामा अग्रपंक्तिमा रहेर नेतृत्व गर्ने एमालेका नेताहरुले आफ्नै वडामा समेत पार्टीका उम्मेदवारहरुलाई जिताउन सकेनन् ।

एमालेका पूर्व जिल्ला अध्यक्ष, पूर्वसांसद एवम् केन्द्रीय सदस्य रविन कोइरालाको वडा मेचीनगर ६ मा नेपाली कांग्रेसका ललित तामाङले जिल्लामै धेरै मतान्तरले एमालेका उम्मेद्वारलाई पराजित गरे । प्रदेश सांसद श्रीप्रसाद मैनाली पनि सोही वडाका निवासी हुन् ।

पूर्वमन्त्री तथा पूर्व महान्यायाधिवक्ता समेत रहेका केन्द्रीय सदस्य अग्नी खरेल, संघीय सांसद पवित्रा निरौला खरेल, केन्द्रीय सदस्य दुर्गा प्रसाईं, एमालेका अग्रज नेता तथा पूर्वसांसद नरेश खरेल, प्रदेश सांसद एवम पूर्व राज्यमन्त्री जसमाया गजमेरलगायतको बसोबास रहेको बिर्तामोड ५ मा एमालेले हार बेहोरेको छ । गत निर्वाचनमा एमालेले जितेको बिर्तामोड वडा नं ५ लाई ती ‘दिग्गज भनाउँदा’हरुले सुरक्षित गर्न सकेनन् । यस वडामा कांग्रेसका रोहित प्रसाईले वडाध्यक्ष जिते भने चार सदस्य एमालेले जोगाएको छ ।

त्यस्तै पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवम् प्रदेश एकका सचिव चिन्तन पाठकले पनि आफ्नो वडा जिताउन सकेनन् । उनको वडा बुद्धशान्ति २ मा एमालेको पराजय भयो । बुद्धशान्ति गाउँपालिकामा एमालेले आफ्नो पुरानै पद उपाध्यक्ष सुरक्षित गर्दै अध्यक्ष भने कांग्रेसलाई जिम्मा लगाएको छ ।

यसै क्षेत्रको अर्जुनधारा ३ यसपटक पनि एमालेले फर्काउन सकेन । खुदुनावारीका चर्चित नेता पूर्वसांसद एवम् पार्टीका जिल्ला उपाध्यक्ष प्रेम गिरीको वडामा एमालेले पराजय भोग्यो । त्यस्तै विद्यार्थी नेता एवम् प्रदेश सांसद बसन्त बानियाँले पनि आफ्नो वडा कचनकवल ७ मा पार्टीका उम्मेदवारलाई जिताउन नसकेको अवस्था छ ।

अर्का विद्यार्थी नेता असारु राजवंशीलाई एमालेले भद्रपुर नगरपालिकाको प्रमुखमा उठाएको थियोे । गत निर्वाचनमा नगरप्रमुख र उपप्रमुख जितेको एमालेले भद्रपुरमा दुवै पद गुमायो । नगर प्रमुखमा कांग्रेस र उपप्रमुख पद राप्रपाले जित्यो ।

त्यसैगरी, झापाको क्षेत्र नं ४ का बहालवाला सांसद एवम् केन्द्रीय सदस्य एलपी साँवाले समेत आफ्नो वडा हारेको हेरेर बस्नुको विकल्प रहेन । शिवसताक्षी ९ मा एमालेले पराजय भोग्दै गर्दा प्रमुख र उपप्रमुख पद भने सुरक्षित राख्न सफल भयो ।

त्यस्तै, पार्टीका जिल्ला अध्यक्ष एवम् पूर्वसांसद दिपक कार्कीले पार्टीलाई जिल्लाभरि जिताउने तागत राखिरहँदा आफ्नै वडा गौरादह ३ मा जिताउन सकेनन् । त्यहाँ पार्टीकै बागी उम्मेद्वार दिलिपकुमार भण्डारीले आधिकारिक उम्मेद्वारलाई हराइदिए । यस वडामा एमालेले आफ्ना चार सदस्यलाई भने सुरक्षित राख्न सफल बनेको छ ।

त्यस्तै पूर्व सांसद एवं पार्टीका केन्द्रीय सदस्य हरिबहादुर राजवंशीले पनि आफ्नो वडा बाह्रदशी ५ मा एमालेलाई जिताउन सकेनन् । त्यहाँ पुरै सेट राप्रपाले जितेको छ ।

यसरी नै एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई, जिसस प्रमुख सोमनाथ पोर्तेल, पूर्वगाविस उपाध्यक्ष लोकबन्धु कन्दङ्बा, मोहन बिकलगायका स्थानीय नेताहरुले समेत आफ्नो वडामा एमालेका उम्मेद्वारलाई जिताउन सकेनन् । जिल्लामा बहुमत ल्याउँदै एमालेले साख जोगाएपनि जिल्लाकै मुख्य नेताहरु बसोवास गर्ने वडामा पार्टीले हार ब्यहोर्दा राम्रो सन्देश दिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्