बिर्तामोड , जेठ १७ । झापा जिल्लामा पार्टीका उम्मेदवारमाथि सबैभन्दा धेरै अन्तर्घात भएको बिर्तामोडका बारेमा नेपाली कांग्रेसले गंभीर निर्णय लिने भएको छ ।

बिर्तामोडको १० वटा वडामध्ये ६ र १० बाहेक अरु सबै वडामा अन्तर्घात भएको ठहर गरिएको छ । अन्तर्घात गर्ने ठूलो संख्यामा रहेका नेता कार्यकर्ताहरुको पहिचान गरी कार्वाहीको प्रक्रिया अघि बढाइएको पार्टीका नगर सचिव दिनेश पराजुलीले बताए ।

धेरै संख्यामा नेता कार्यकर्तालाई कार्वाही गर्दा पार्टी नै नरहने हो कि भन्ने डर एकातिर छ भने अर्कोतिर अन्तर्घात गर्नेहरुले पार्टी नै समाप्त पार्न लागेकाले कार्यकर्ता छाट्नैपर्ने जरुरी देखिएको छ । त्यही भएर पार्टीले गंभीर निर्णय लिन लागेको सचिव पराजुलीले बताए । बिर्तामोडमा कांग्रेसले माओवादीसंग गठबन्धनसंग गरी चुनाव लडेको थियो । कांग्रेसले नगर प्रमुखसहित ८ वटा वडाको वडाध्यक्ष र माओवादीले उपप्रमुखसहित दुईवटा वडाध्यक्ष पदमा निर्वाचन लडेको थियो । माओवादीले वडाध्यक्ष पाएर निर्वाचन लडेको बिर्तामोड ७ मा ७० प्रतिशत कांग्रेस कार्यकर्ताले गठबन्धन दल माओवादीलाई भोट नदिएको अनुमान गरिएको छ । त्यस्तै वडा नं १ ,२ , ३ , ४ , ५ , ८ र ९ मा पनि व्यापक रुपमा अन्तर्घात भएको पार्टीले ठहर गरेको छ । कार्यकर्तासगै बिर्तामोडका अग्रज नेताहरुले समेत निर्वाचनमा अन्तर्घात गरेको पार्टीको ठम्याइ छ ।

१० वटै वडा समितिले निर्वाचनको समीक्षा गरी अन्तर्घात गर्नेहरुलाई कार्वाहीको सिफारिस गर्न लागेको नगर सचिव पराजुलीले जानकारी दिए ।‘ वडाहरुले बैठक गरेर सिफारिस गर्दैछन् ’ उनले भने ,‘ वडाहरुबाट सिफारिस आइसकेपछि जेठको अन्तिम साता नगर समितिको बैठक बसेर कार्वाहीको टुंगो लगाउँछौं ।’ त्यस्तै वागी उम्मेदवारी दिनेलाई पनि कार्वाही हुने भएको छ ।

बिर्तामोडमा केही वर्षदेखि पार्टीभन्दा जातीय राजनीति बढी हावी भएको छ । आदिवासी जनजाति समुदायका उम्मेदवार उठ्दा एउटै पार्टीको भएपनि गैर आदिवासीले सहयोग नगर्ने र गैर आदिवासी उठ्दा आदिवासीहरुले सहयोग नगर्ने प्रवृति देखिएको छ । ‘ समुदायमा मात्र नभएर थरमा समेत राजनीति गरेको पाइयो ’ कांग्रेसका एक कार्यकर्ताले भने ,‘ प्रसाई उठ्दा सिटौलाले सहयोग नगर्ने , सिटौला उठ्दा प्रसाईले सहयोग नगर्ने ।’ त्यही प्रवृतिका कारण हरेक पार्टीभित्र खासगरी कांग्रेसमा अन्तर्घात बढी मौलाउदै गएको हो ।

बिर्तामोडमा कांग्रेसका करीव ५ हजार कार्यकर्ता छन् । ती कार्यकर्ता र उनीहरुको परिवारका सदस्यले भोट दिएको भए कांग्रेसका उम्मेदवारले स्वतः निर्वाचन जित्नुपथ्र्यो ।तर,नगर प्रमुखका उम्मेदवार भोजराज सिटौला १२ हजार ७६२ मत ल्याउँदै पराजित भएका छन् । एमालेकी पवित्रा महतारा प्रसाई १६ हजार ५२० मतका साथ विजयी भएकी हुन् ।

उता स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै शिवसताक्षीमा नेपाली कांग्रेसका नेता कार्यकर्ता कारबाहीमा परेका छन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को वडा समितिले वडाका १२ जना नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ । वडा समितिका सभापति राकेश राजवंशीको अध्यक्षतामा सोमबार बसेको बैठकले पार्टीका उम्मेदवारलाई असहयोग गरेको पुष्टी भएपछि ती नेता कार्यकर्तालाई कारबाहीको सिफारिस गर्ने निर्णय गरेको हो ।

सो वडामा नेपाली कांग्रेसले पदम थापालाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । तर, पार्टीका क्रियाशील सदस्यले आफू इतर दलका उम्मेदवारलाई खुलेर सहयोग गरेको प्रमाण फेला परेपछि त्यस्ता नेता कार्यकताको पार्टी क्रियाशील सदस्यता खोसिएको नेपाली कांग्रेस शिवसताक्षी नगरको ५ नम्बर वडा समितिले जनाएको छ ।

वडा सभापति राजवंशीका अनुसार टंकप्रसाद मैनाली, अमृतबहादुर कटुवाल, सतानुसिंह राजवंशी, रतनलाल साह, कर्णप्रसाद ताजपुरिया, सन्तोष शाह, खड्गप्रसाद ताजपुरिया, चित्र गिरी, सूर्यनारायण सिंह राजवंशी, नागेश्वर राजवंशी, महेन्द्र ताजपुरिया र उदय भानु शाहलाई वडा समितिले कारबाही गरेको छ ।
यता नगरमा हाइप्रोफायल भएका कांग्रेस नेतालाई पनि पार्टीले कार्वाही गर्ने नेपाली कांग्रेस शिवसताक्षी नगरले जनाएको छ । स्थानीय तहको निर्वाचन अगावै कांग्रेस बाहेकको पार्टीबाट बिभिन्न पदमा उम्मेदवारी दिने, उम्मेदवारलाई असहयोग गरी अन्य राजनीतिक दलका उम्मेदवारलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने तयारी भएको नगर प्रमुखका प्रत्यासी पर्शुराम ढुँगानाले बताए ।
वडा नं. ८ बाट याम बुढाथोकी र रुद्रमणी भट्टराई,११ बाट छत्रबाबु ओझा, ६ बाट चन्द्रमणी पौडेल, सन्तोष इजम र वडा नं. ४ बाट रुद्र सिटौलालाई पार्टीले कार्वाही गर्ने नगर समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्