बिर्तामोड , जेठ २३ । बिर्तामोड ५ स्थित नयाँ नमूना टोल विकास संस्थाले विश्व वातावरण दिवस मनाएको छ ।

दिवसका अवसरमा आयोजित सचेतना कार्यक्रममा अधिवक्ता हेमकला कट्टेलले फोहोर मैला व्यवस्थापनमा स्थानीय तहको जिम्मेवारीका विषयमा प्रकाश पारेकी थिइन् । उनले पुनरावेदन अदालतले फोहोर मैला व्यवस्थापन नगर्ने पालिकाहरुलाई सुनाएको फैसलाको प्रतिलिपि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिन् ।

त्यस्तै टोल विकास संस्थाका सदस्य मणि सुवेदीले फोहोर मैला व्यवस्थापनका विधिका बारेमा जानकारी दिएका थिए । त्यस अवसरमा ५० घरधुरी रहेको टोलका सदस्यहरुलाई डस्टविन वितरण गरिएको थियो ।

टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्र संग्रौला , वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईलगायतलाई बधाई तथा शुभकामना दिइएको थियो ।कार्यक्रममा कार्यपालिका सदस्य जगतबन्धु राजवंशी , अधिवक्ता गजेन्द्र आचार्य ,विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव रंगलाल न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्