भद्रपुर, जेठ २३ । जथाभावी फ्यालिने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापन खोज्न आग्रह गर्दै सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीले चन्द्रगढी बजारलगायत आसपास क्षेत्रमा सरसफाई गरेको छ ।

सेवाकेन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको नेतृत्वमा सोमबार निस्केको स्थानीय प्रहरीसहितको टोलीले सदरमुकाम चन्द्रगढीको लेखनाथ चोकदेखि बजारसहित ट्रेड युनियन चोकसम्मको लगभग १ किलोमिटर क्षेत्र सरसफाई गरेको हो ।

‘पानपराग, गुड्काका खोल जथाभावी नफालौ, घरबाट निस्कने फोहोरलाइ एकैठाउँमा जम्मा गरी नगरपालिकाको गाडीमा पठाऔ, सड्ने र नसड्ने फोहोरलाई छुट्टाछुट्टै राखी व्यवस्थापन गरौं , सफा र स्वच्छ चन्द्रगढी बजार बनाऔ’ जस्ता नारा समेटिएको प्लेकार्डसहित टोली निस्केको थियो ।
घरबाट जथाभावी फालिने फोहोरका कारण विभिन्न रोग लागेर मानिसको अकालमा मृत्युसम्म हुने भएकाले समयमै यसको व्यवस्थापन गर्नुपर्ने अध्यक्ष पाठकले बताए ।

प्लाष्टिकलाई जलाएमा वातावरणलाई असर गर्ने र जथाभावी फाल्नाले जमिनलाई समेत नोक्सान गर्ने भएकोले सबैले प्लाष्टिकको दीर्घकालिन समाधान गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा भद्रपुर ७ ,८ र १० का वडा अध्यक्षहरु क्रमशः अभिषेख ढुङ्गाना, मनोज सुब्बा गौरब , टेकबहादुर खड्का काजी , ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीका प्रहरीहरुलगायतको सहभागिता रहेको थियो । सचिव धनप्रसाद शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका बरिष्ठ सई प्रविण भट्टराईले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्