भद्रपुर, जेठ २८ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले झापा जिल्लामा सञ्चालनमा रहेका विद्यालयहरूले विभिन्न बहाना बनाएर सार्वजनिक विदा मिच्ने तथा न्यूनतम पारिश्रमिक दिन आनाकानी गर्ने बिरूद्ध कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय सचिव यादवप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न विस्तारित बैठकले प्याब्सन, एन प्याब्सनको नाममा सरकारले तोकेका सार्वजनिक विदा तथा श्रम ऐन अनुसार वर्षौंदेखि कायम रहेका सेवा सुविधा अतिक्रमण गरेर कानुन विपरित सञ्चालन भइरहेका विद्यालयहरूको पहिचान गरी कारवाही प्रकृयामा लैजाने निर्णय गरेको हो ।
कोरोनाको बहाना बनाएर शिक्षक तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक समेत भुक्तानी नगर्ने, सार्वजनिक विदा अतिक्रमण गर्ने, शिक्षक कर्मचारीलाई अनावश्यक दुःख दिने नियत राखी आन्तरिक नियमको बहानामा श्रम र समय बर्वाद हुने गरी शोषण गर्ने, समयमा पारिश्रमिक नदिएको कार्यप्रति खेद व्यक्त गरिएको छ ।
युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन लाग्दा समेत शिक्षक, कर्मचारी, चालक तथा सहचालकहरूलाई पूर्ण पारिश्रमिक नदिई विद्यालय सञ्चालकहरूले झारो टार्ने प्रयास गरिरहेकोप्रति खेद प्रकट गर्दै त्यसबिरूद्ध लड्न कदम चाल्न सक्ने समेत चेतावनी दिइएको छ ।
बैठकले संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालकको संयुक्त भेला गरी हरेक विद्यालयमा हुने गरेका अन्यायबिरूद्ध कडा आन्दोलन गर्न मातहत समितिलाई निर्देशन समेत दिएको छ ।
साथै बैठकले नीति, नियम र कानुनलाई हातमा लिएर विद्यालय सञ्चालन गर्ने सोच त्याग्न विद्यालय सञ्चालकहरूसित आग्रह गर्दैे संस्थागत विद्यालयको शैक्षिक उन्नतिमा शिक्षक कर्मचारीको योगदान नबिर्सन अनुरोध समेत गरेको छ ।