झापा , जेठ २९ । एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग ४–१ गोलले पराजित भएको छ ।

Advertisement

गएराति कुवेतको जाबिर अल अहमद मैदानमा भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलले पराजित भएको हो । घरेलु टोलीका युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै, फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक÷एक गोल गरे ।

नेपालका दर्शन गुरुङले एक गोल फर्काए । नेपालको लगातार यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन छ । हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।
कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेत इन्डोनेसियासँग पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा पर्सि जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

यसैबीच कुवेतसँगको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्