बिर्तामोड , असार ३ । सवारी दुर्घटनामा परी निधन भएका कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको संझनामा १३ लाखको अक्षयकोष स्थापना गरिने भएको छ ।

सातौं दिनको पुण्यतिथिमा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषका लागि कर्णाली साकोस , कर्मचारी तथा विभिन्न संघसंस्थाबाट सो रकम संकलन गरिने सचिव भुपाल बस्नेतले बताए । अक्षयकोषको रकमबाट गरीव तथा विपन्न परिवारका मानिसहरुको शिक्षा , स्वास्थ्य,व्यावसायिक तालिमको लागि खर्च गरिने उनले जानकारी दिए । अक्षयकोषको पदेन सदस्यमा परिवारका सदस्य रहने जनाइएको छ ।

शोकसभाका प्रमुख अतिथि प्रदेश नं १ का भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले समवेदनापत्र परिवारलाई वितरण गरेका थिए । कार्यक्रममा दिवंगत खरेलप्रति समवेदना व्यक्त गरिनुका साथै सोही सवारी दुर्घटनामा परी घाइते भएका अध्यक्ष टसबहादुर प्रधान , कोषाध्यक्ष एकराज बिष्टलगायतको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । त्यस्तै बिएण्डसी हस्पिटलमा उपचाररत संस्थाका पूर्व सचिव एवं प्रवन्धक दिलकुमार राईको पनि शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।कार्यक्रममा सहकारीका संचालक सदस्यहरु जानुका न्यौपाने ओली , कुमारी खड्का भट्टराई, निर्मला पाठक कुइकेलसहित कर्णाली साकोसका ४३ वटै सेवाकेन्द्रका कर्मचारी , शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उपाध्यक्ष खरेलको अल्पायुमै भएको निधनप्रति उनीहरु भावविह्वल देखिएका थिए । गत जेठ २८ गते साँझ इलाम जाँदै गर्दा स्कोरपियो दुर्घटना हुँदा खरेलको मृत्यु भएको थियो भने अध्यक्ष प्रधानसहित ५ जना घाइते भएका थिए ।

पाँचथर जिल्ला फलैचा गा.बि.स. वडा नं.–४ तिल्के निवासी बुबा केवलीप्रसाद र आमा लक्ष्मी (पाण्डे) खरेलका कान्छा सुपुत्रको रुपमा बि.सं. २०२१ साल श्रावण ९ गते जन्मिएका खरेलको विवाह टिकादेवी (शिवाकोटी) खरेलसँग वि.सं. २०५२ सालमा भएको थियो । जन्मस्थानबाट स–परिवार बसाई सरी तोपगाछी र हल्दिबारी हँुदै हाल बिर्तामोड –३ दरवार चौकमा स्थायी रुपमा बसोवास गर्दै आएका थिए । स्व. खरेल एक सरल, ईमान्दार, मिलनसार र सहकारीकर्मीका रुपमा परिचित थिए । उनका श्रीमती टिकादेवी (शिवाकोटी) खरेल, छोरा अभिषेक र छोरी एन्जिला खरेल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्