झापा , असार ७ । जिल्ला समन्वय समिति झापामा नेकपा (एमाले)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले भने निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा गर्न बाँकी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार जिसस प्रमुख, उपप्रमुख र सात सदस्य पदका लागि मनोनयन दर्ता भएको थियो ।

एमालेका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । जिल्लामा एमाले जनप्रतिनिधिहरूको एकल बहुमत रहेकोले अन्य दलबाट कुनै पनि पदमा उम्मेदवारी दर्ता भएन । एमालेले जिसस प्रमुखमा विश्व बराल र उपप्रमुख शान्ता रोक्कालाई उम्मेदवार बनाएको थियो । त्यस्तै सदस्यहरू देवका बस्याल , तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रिता नेपाली रहेका छन् ।

अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवार स्वतः निर्विरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मंगलबार मनोनयन दर्ता, बुधबार चुनाव चिन्ह र बिहीबार मतदानसँगै विजयी घोषणा गर्ने कार्यक्रम छ । जिससमा निर्वाचित भएका पदाधिकारीको आधिकारिक घोषणा असार ९ गते हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्