झापा , असार ८ । प्रदेश १ को नामको विषयमा गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दलले भित्रभित्रै छलफललाई सघन बनाएका छन् ।

दलका नेताहरुले दिएको जानकारी अनुसार प्रदेश १ को नाम प्रदेशसभाको दशौं अधिवेशनबाटै टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको छ ।

अहिले प्रदेशको नाम कोशी, सगरमाथा, विराट, कञ्चनजंघामध्ये एउटा राख्ने गरी छलफल अगाडि बढेको छ । ‘हामी यही असार १५ गतेसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेका छौं,’ एक नेताले भने, ‘जात, धर्म, सम्प्रदाय जोडिने गरी नाम आउँदैन, त्यसमा कुनै दुई शब्द पनि जोडिँदैन, तपाईले कोशी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा नाम आउँछ भनेर बुझे हुन्छ ।’
यसअघि प्रदेशसभामा विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि नामको विषय टुङ्ग्याउन जोड दिएको थियो । एमालेले पूर्वमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा अन्य दलहरूसँग वार्ता तथा छलफल गर्न समिति निर्माण गरेको छ ।

यस्तै नेपाली काँग्रेसले पनि संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा समिति निर्माण गरेको छ । सरकारको तर्फबाट जसपाका नेता तथा स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा समिति निर्माण गरिएको छ । काँग्रेस नेता कोइरालाले नाम जेसुकै भए पनि चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्