बिर्तामोड , असार १२ । झापाको बिर्तामोडमा प्रथम प्रदेश नं १ स्तरीय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसीप हुने भएको छ ।

झापा स्ट्रेन्थ लिफ्टिङ एशोसिएसनको आयोजनामा यही असार १८ गते बिर्तामोडको अतिथि सदनमा सो प्रतियोगिता हुने भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यस छनौट प्रतियोगितामा छानिनेहरुले असार ३२ र साउन १ गते काठमाडौंमा हुने केन्द्रीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताको तयारी तीब्र पारिएको बताउँदै झापा स्ट्रेन्थ लिफ्टिङ एशोसिएसनका अध्यक्ष अर्जुन क्षेत्री लम्सालले त्यस प्रतियोगितामा सयदेखि डेढ सयसम्म खेलाडी सहभागी हुने अपेक्षा गरिएको जानकारी दिए ।

केन्द्रीय प्रतियोगितामा छनौट हुने खेलाडीहरुले आगामी भदौ १४ गते तिर्किस्थानमा हुने विश्व खेल प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । नेपालमा स्ट्रेन्थ लिफ्टिङ खेल, पावर लिफ्टिङ र वेट लिफ्टिङकै शाखाको रुपमा विकसित हुँदै गएको हो । नयाँ खेल भएकाले यसले अहिले नै त्यति धेरै लोकप्रियता हासिल गरिनसकेको अध्यक्ष लम्सालले बताए । त्यस्तै सल्लाहकार संयोजक हरि नुनिया धिमालले यो खेलको प्रतिष्पर्धा हुन्छ भनेर तालिम शुरु भएको जानकारी दिए । सँधै जिम गरिरहनेका लागि यो नौलो खेल नभएको भन्दै उनले यस खेलमा आफ्नो बल आफ्नो मेडल अवधारणा लागु हुने जानकारी दिए ।

बाइसेप कर्ल , ह्याक लिफ्ट र इन्क्लाइन बेन्च विधा रहने यो खेलमा उमेर र तौल समूह दुवै आधार रहने गरेको छ । छनौट प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था समेत गरिएको अध्यक्ष लम्सालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको दिन भारत सिक्किमका खेलाडीहरुसंग मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको लम्सालले जानकारी दिए ।

खेल क्षेत्रमा उर्वर रहेको झापामा स्ट्रेन्थ लिफ्टिङमा पनि यहाँका खेलाडीहरु अगाडि रहेका छन् । हरि नुनिया धिमाल ,प्रसिद्ध भक्तराव लवट , अर्जुन क्षेत्री लम्साल र चन्द्र राना मगर गरी चारजना राष्ट्रिय निर्णायक झापाका रहेका छन् । झापा स्ट्रेन्थ लिफ्टिङ एशोसिएसनका सचिव राजु दाहालले संचालन गरेको कार्यक्रममा फिट्नेस संघका विनु थपलिया , निशा पोमुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्