बिर्तामोड , असार १४ । बिर्तामोड ५मा रहेको बुधबारे हटियाका व्यवसायीहरुले बिजुली बत्ती बाल्न पाउने भएका छन् ।

बिर्तामोड नगरपालिकामा आज भएको सर्बदलीय र सर्वपक्षीय बैठकमा बुधबारे हटियाका व्यवसायीहरुका लागि सात दिनभित्र बिजुली बत्ती बाल्ने व्यवस्था नगरपालिकाले मिलाइदिने सहमति भएको हो । सात दिनभित्र बिजुली बत्ती बाल्ने व्यवस्था नगरपालिकाले मिलाउने सहमति भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । उनले आफूहरुको आन्दोलन सफल भएको दावी गरे ।

आगामी सात दिनभित्र कार्यपालिकाको बैठक बसेर भइरहेको मिटरबाट व्यवसायीहरुलाई बिजुली बत्ती बाल्ने व्यवस्था मिलाउने मौखिक सहमति भएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाको समस्या समाधानको लागि संग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तत्कालीन गाविस भएको बेला निकालिएको मिटरबाटै सबै व्यवसायीहरुलाई बिजुली बत्ती पाउने व्यवस्था मिलाइने संयोजक संग्रौलाले जानकारी दिए ।

बैठकमा जनप्रतिनिधि , पूर्व जनप्रतिनिधि ,पार्टी प्रतिनिधि , वाणिज्य संघका प्रतिनिधि, जग्गादातालगायतको सहभागिता रहेको थियो । बिजुली बत्ती बाल्न पाउनुपर्ने मागसहित वाणिज्य संघको अगुवाईमा बुधबारे हटियाका व्यवसायीहरु एक साताभन्दा बढी समयदेखि आन्दोलनरत रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्