एजेन्सी । श्रीलंकामा प्रदर्शनकारीहरु राष्ट्रपति गोताबाया राजापाक्षको निवासभित्र प्रवेश गरेका छन् । प्रदर्शनकारीहरु प्रवेश गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् ।

बीबीसीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।
श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा शनिबार राजधानी कोलम्बोमा विशाल प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस प्रहार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यसक्रममा केही घाइते भएका छन् ।

यसैबीच श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्या पनि प्रदर्शनकारीमाझ पुगेका छन् । आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।

प्रदर्शनकारीहरूले भने राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै केही नेताका घरमा आगजनीसमेत गरेका थिए । प्रदर्शन चर्किँदै गर्दा महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्