झापा , असार २९ । मानव अधिकार एलाइन्स नेपालको २३ औं स्थापना दिवसको अवसरमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार एलाइन्स झापाको आयोजनामा विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित “मानव अधिकारको प्रवर्द्धनमा नागरिक संघसंस्था, एलाइन्स र पार्टीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा ३१ जना गैरसरकारी संस्थाकर्मी र राजनीतिक नेतृत्वहरुको सहभागिता रहेको थियो । मानव अधिकार एलाइन्स झापाका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता, नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी, एमाले जिल्ला उपाध्यक्ष प्रेम गिरी, जिल्ला सचिव शिव ढुङ्गेल, प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल, मानव अधिकार एलाइन्स केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रुद्रप्रसाद सिटौलालगायतको आतिथ्यता रहेको थियो ।

मानव अधिकार एलाइन्स झापाका सदस्य तथा अधिवक्ता कविता बाँस्तोला पाठकले सञ्चालन गरेको कार्यक्रममा एलाइन्स सचिव अर्जुनकुमार पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि गैससकर्मीहरु गोविन्द न्यौपाने, सोमनाथ ढकाल, छवि खतिवडा, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, सोमनाथ पोर्तेल, शिव ढुङ्गेल, प्रेम गिरीलगायतले टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा मानव अधिकारका क्षेत्रमा कार्यरत नागरिक संस्थाहरुले भोग्नु परेका समस्या र मानव अधिकारका सवालमा सरोकारवालाहरुको भूमिकाका बारेमा बहस भएको थियो ।

गैससकर्मीहरुले मानव अधिकार एलाइन्स केन्द्र र पार्टीले मानव अधिकारका क्षेत्रमा कार्यरत नागरिक संस्थाहरुलाई प्रभावकारी कार्य गर्नका लागि सहज वातावरण बनाईदिन सहयोग र सहजीकरण गरिदिन अनुरोध गरेका थिए । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खरेलले नागरिक संस्थाहरुको समस्याप्रति पार्टीको ध्यान आकृष्ट भएको र आगामी दिनमा अभिभावकको भूमिका निर्वाह गर्न आफू सँधै तयार रहेको बताएका थिए । अन्य जिल्ला नेतृत्वहरुले पनि प्रतिबद्ध भएर सहयोग तथा सहकार्य गर्न सुझाव दिएको मानव अधिकार एलाइन्सका उपाध्यक्ष कृष्ण दंगालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्