झापा , साउन ३ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)लाई १० अर्ब ५० करोड भारू (१६ अर्ब ८० करोड) रुपैयाँ बुझाएको छ ।

घाटामा तेल बेचिरहेको निगमले लामो समयदेखि आईओसीसँग उधारोमा तेल किनिरहेको थियो । जसबापत, आईओसीलाई तिनुपर्ने रकम ३१ अर्ब २० करोड रुपैयाँ पुगेका थियो । जसमध्ये, १६ अर्ब ८० करोड रुपैयाँ बुझाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । आईओसीलाई बुझाउन लागिएकोमध्ये १० अर्ब रुपैयाँ ऋणबाट सङ्कलन गरिएको हो । नेपाल सरकारले ७ अर्ब रुपैयाँ सहुलियतपूणर् ऋण, २ अर्ब ७५ करोड अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता र पूर्वाधार विकास करबापतको ५९ करोड ८६ लाख रुपैयाँ निगमलाई दिएको छ । यसैगरी, वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ ऋण दिएको छ । यो रकम पाएपछि तेल किनेर भुक्तानी गर्न बाँकी ३१ अर्बभन्दा बढी रकम घटेर १४ करोडमा आउने निगमले बताएको छ । निगमले सरकार र वाणिज्य बैंकले दिएको ऋण र भ्याट फिर्ता र पूर्वाधार कर बापतको रकम फिर्ता विभिन्न नाममा १३ अर्ब ३४ करोड रुपैयाँ पाएको छ । यसबाहेक, १४ दिनको अवधिमा निगमले पेट्रोलियम पदार्थको बिक्री बापत ३ अर्ब ४६ करोड रुपैयाँ सङ्कलन गरेको छ । निगमले महँगोमा तेल किनेर सस्तो बेच्दा न्यून आम्दानी भइरहेको प्रवक्ता उपाध्यायले जानकारी दिए । यद्यपी, पछिल्लो समय आईओसीबाट तेलको मूल्य घटेर आउँदा निगमलाई केही राहत भएको छ । आईओसीले पछिल्लो पटक पठाएको मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर १९५.१९ रुपैयाँ छ । यस्तै, डिजेलको खरिद लागत १९३.९२ रुपैयाँ र मट्टितेलको खरिद लागत १६८.९७ रुपैयाँ छ । यसैगरी, खाना पकाउने एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २३ सय ८२ रुपैयाँ छ । जबकि, पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल/डिजेलको बिक्री मूल्य प्रतिलिटर १७२ र खाना पकाउने एलपीजी ग्याँसको बिक्री मूल्य १८ सय रुपैयाँ प्रतिसिलिन्डर रहेको छ । यसरी, खरिद लागतको तुलनामा बिक्री मूल्य कम हुँदा निगमलाई अहिले मासिक ४ अर्ब ३२ करोड रुपैयाँ घाटा रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्